चार पटकको विश्वविजेता इटाली गत ३ संस्करणको फिफा विश्वकपदेखि टाढा छ । छनोट चरणबाट बाहिरिँदा इटाली सन् २०१८, २०२२ र २०२६ को विश्वकप खेल्न पाएन । १६ टिम सहभागी हुने व्यवस्था हुँदा लगातार विश्वकप खेलेको इटाली अहिले ४८ देश पुर्याउँदा पनि छनोट हुन सकेन ।

पहिलो विश्वकपमा सहभागी नभएको इटाली दोस्रो र तेस्रो विश्वकपमा च्याम्पियन बन्यो । त्यसपछि २०१४ सम्म इटालीले एउटाबाहेक सबै विश्वकप खेलेको छ । सन् १९५८ को विश्वकपका छनोट हुन सकेको थिएन । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा भएको विश्वकपको उपाधि जित्न सफल भयो ।
२०१० विश्वपकमा समूह ‘एफ’ मा रहेको इटाली पाराग्वे, स्लोभाकिया र न्युजिल्यान्डसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिन पुग्यो । इटाली जितविहीन बन्यो । त्यसपछिको विश्वकपमा पनि इटालीले समूह चरण पार गर्न सकेन । २०१४ को विश्वकपमा इटालीले इंग्ल्याण्डलाई हराउँदा पोर्चुगल र कोस्टारिकासँग पराजित हुन पुग्यो ।
पहिलो चरणमा शीर्ष स्थानमा रहँदै सिधै विश्वकपमा छनोट हुने अवसर इटालीले गुमायो । दोस्रो चरणमा इटाली, उत्तरी आयरल्याण्ड, वेल्स तथा बोस्निया र हर्जेगोभिनामध्ये एक टोली विश्वकपमा छनोट हुने अवस्था बन्यो ।
पहिलो खेलमा इटालीले उत्तरी आयरल्याण्ड तथा बोस्निया र हर्जेगोभिनाले वेल्सलाई पराजित गरे । फाइनलमा बोस्निया र हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन सकेन ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बोस्निया र हर्जेगोभिनाले ४–१ ले पराजित गर्दा विश्वकप खेल्ने इटालीको चाहनामा ब्रेक लाग्यो ।
कसरी भयो इटालियन फुटबलको पतन ?
सन् २००६ मा भएको म्याच फिक्सिङ काण्ड जुन इटालियन फुटबलको पतनको एक प्रमुख मोड बन्यो । सिरी ‘ए’ लिगमा युभेन्टसले रेफ्री नियुक्ति र निर्णयलाई प्रभावित पार्न अनैतिक गतिविधि गरेको प्रकरण बाहिर आयो । दोषी ठहर हुँदा युभेन्टस ‘ए’ बाट ‘बी’ मा घटुवा भयो ।
सोही कारण धेरै स्टार खेलाडीहरूले क्लब छाडे, प्रायोजकहरूमा अन्योल सिर्जना भयो र इटालियन फुटबलको अन्तर्राष्ट्रिय छविमा ठूलो धक्का पुग्यो । सन् १९८० र ९० को दशकमा विश्वकै उत्कृष्ट लिग मानिने सिरी ‘ए’को भ्यालु घट्दै गयो । जसको प्रभाव इटालियन फुटबलमा पर्यो ।
सन् २००७ मा लिभरपुललाई हराउँदै मिलानले च्याम्पियन्स लिगको उपाधि जित्यो । च्याम्पियन्स लिगको फाइनल खेलमा मिलानको सुरुवाती–११ मा एकजना पनि इटालियन खेलाडी पनि थिएनन् । जसको असर २०१० को विश्वकपमा देखियो । उक्त विश्वकपमा इटाली जितविहीन बन्दै समूह चरणबाटै बाहिरियो । त्यसपछि २०१४ को विश्वकपमा पनि इटाली समूह चरणबाटै बाहिरियो । त्यहाँबाट पनि इटालीको पतन रोकिएन ।
इटालीले युरो कप २०२० मा इंग्ल्याण्डलाई हराउँदै ५३ वर्षपछि उपाधि जित्न सफल भयो । त्यतिबेला इटालीयन फुटबलले पुनरामगन गरेको महशुस धेरैले गरेका थिए । इंग्ल्यान्डसँगै बेल्जियम र जर्मनी जस्ता बलिया राष्ट्रलाई पन्छाउँदै इटालीले युरो कप २०२० को उपाधि जितेका थियो । तर, त्यो लामो समय टिक्न सकेन ।
कतिसम्म भने इटालीले फुटबल पूर्वाधार सुधार नगरे सन् २०३२ को युरोपियन च्याम्पियनसिपको सहआयोजकको अधिकार गुमाउन सक्ने चेतावनी समेत पाएको छ । इटालीले पछिल्लो ३ विश्वकपको समयमा ६ वटा प्रशिक्षक परिवर्तन गरिसकेको छ । पटकपटक प्रशिक्षक परिवर्तन हुँदा पनि खेलाडी विकास र टोली निर्माण प्रभावित हुँदै आएको छ ।
२०२६ विश्वकप छनोट खेलपछि इटालीले लक्जमबर्गसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । जसमा नयाँ र युवा पुस्ताका साथ इटाली मैदानमा उत्रियो । एउटै खेलमा १५ युवा खेलाडीहरुले सिनियर टोलीबाट डेब्यु गरे । इटाली १–० ले विजयी भयो । खेलपछि इटालीका कप्तान जियानलुइगी डोनारुमाले युवा खेलाडीहरूको साथमा बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरे ।



