काठमाडौँ। काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार, व्यावसायिक दक्षता र सञ्चार–चलचित्र क्षेत्रमा प्रवेशका अवसर बढाउने अपेक्षा गरिएको छ। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी, भिडियो रिपोर्टिङ तथा व्यावहारिक पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ।
तालिमको प्रारम्भिक कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू, चलचित्र विकास बोर्डका सदस्यहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महानगरपालिकाका प्रतिनिधिले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारेका थिए भने चलचित्र विकास बोर्डका तर्फबाट तालिमले नेपाली चलचित्र, सञ्चार र दृश्य–कला क्षेत्रमा पुर्याउने योगदानबारे चर्चा गरिएको थियो।
तालिममा वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा वरिष्ठ पत्रकार एवं फोटोग्राफर श्रीधर पौडेललगायतले प्रशिक्षण दिनेछन्। पहिलो दिनको सत्र औपचारिक रूपमा उद्घाटन, कार्यक्रमको उद्देश्यबारे जानकारी तथा प्रशिक्षार्थीहरूको परिचयसहित सम्पन्न भएको थियो।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक कार्यक्रमले नयाँ पुस्तालाई प्राविधिक रूपमा सक्षम बनाउँदै चलचित्र तथा सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



