अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद रु. दुई लाख ५० हजार, सम्मानपत्र, खादा र मालासहित सम्मान गरेको छ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबार राजधानीस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले चलचित्र टोलीलाई सम्मान प्रदान गरेका हुन्।
नेपाली चलचित्रले विश्वमञ्चमा नेपालको पहिचान, संस्कृति र सिर्जनशीलतालाई स्थापित गर्न पुर्याएको योगदानको कदरस्वरूप चलचित्र विकास बोर्डले उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको भन्दै चलचित्र टोलीको योगदानप्रति उच्च सम्मान व्यक्त गरे। पछिल्ला वर्षहरूमा नेपाली चलचित्रले उल्लेखनीय फड्को मार्दै देशको प्रतिष्ठा उँचो बनाएको उनको भनाइ थियो।
“धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो चलचित्रले नेपाललाई चिनाएको छ। यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको छ,” मन्त्री पौडेलले भने।
सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र टोलीले प्राप्त गरेको उपलब्धि केवल पुरस्कार नभई राष्ट्रकै लागि अमूल्य गौरव भएको बताए।
“यहाँहरूले प्राप्त गर्नुभएको सफलताको मूल्य दुई लाख ५० हजार वा दुई करोड ५० लाख रुपैयाँले पनि मापन गर्न सकिँदैन। यो देशकै लागि गौरवको विषय हो,” उनले भने।
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय एवं देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए। नेपाली चलचित्रले अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको उल्लेख गर्दै उनले वर्तमान सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएकोमा धन्यवाद व्यक्त गरे।
५६ वर्षदेखि समयानुकूल परिमार्जन हुन नसकेको चलचित्रसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष डीसीले चलचित्र क्षेत्रको दीर्घकालीन विकासप्रति सरकार सकारात्मक रहेको बताए।
“अब नेपाल हिमालको देश मात्र होइन, ‘इलिफेन्ट्स इन द फग’ को देशका रूपमा समेत चिनिने अवस्था बनेको छ,” अध्यक्ष डीसीले भने।
सम्मान ग्रहण गर्दै चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताए।
“मेरो कामले नै मलाई यहाँसम्म ल्याएको महसुस भएको छ। यस अवसरमा देशभरिका मेरा सहकर्मीहरूलाई सम्झिरहेको छु। सिनेमा मनोरञ्जनको माध्यम मात्र होइन, हाम्रो संस्कृति, पहिचान र कथा संसारसामु पुर्याउने सशक्त माध्यम पनि हो,” उनले भने।
सम्मान ग्रहण गर्न निर्देशक शाहसहित निर्माता अनुप पौडेल र प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा तथा चलचित्रका अन्य कलाकार एवं प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उनले पर्यटन व्यवसायी तथा चलचित्र निर्माताहरूलाई सिनेमालाई पर्यटन प्रवर्द्धनको दृष्टिकोणबाट समेत हेर्न आग्रह गरे।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डबीचको सहकार्य तथा कार्यक्रमको संयोजन गरेका थिए।
कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्तेन रिगार्ड’ विधाको जुरी पुरस्कार तथा उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार–२०२६ प्राप्त गरेको ‘इलिफेन्ट्स इन द फग’ ले विश्वस्तरमा नेपाली कथावस्तु, संस्कृति र सिर्जनात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएको छ। चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानले नेपाली चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रियस्तरमा अझ उच्च आत्मविश्वासका साथ अघि बढ्न थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासहित नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरू बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर, निरुता सिंह, जितु नेपाल, दयाहाङ राई, पशुपति राई, मनोज पण्डित, मोहन निरौला, कृष्ण मल्ल, नकिम उद्दिन, प्रकाश सुवेदी, रञ्जित आचार्य र विकास सुवेदीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, चलचित्र क्षेत्रसँग सम्बन्धित १४ वटा संघसंस्थाका अध्यक्षसहित चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा अन्य चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।



