नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक ‘संशय’ मन्चन हुने भएको छ । अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन् ।

नाटकमै आधारित भएर शेन्ली आफैले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ अस्करको विभिन्न पाँच विधामा मनोनित समेत भएको थियो । निर्देशक बरालका अनुसार नाटकले क्याथोलिक विद्यालय भित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवादबीचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शंका, विश्वास र सत्यको विविध आयाम खोतल्ने प्रयास गर्दछ ।
नाटकमा क्याम्पसका विद्यार्थी सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नि थापाको अभिनय छ । शेन्लीको यस नाटकले पुलित्जर र टोनीजस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो ।
नाटक असार १९ गते देखि २८ गते सम्म (बुधबार बाहेक) हरेक दिन साँझ ५ः१५ बजेबाट पिंगलास्थान स्थित स्टुडियो थिएटरमा मन्चन हुनेछ । चलचित्रका विभिन्न विधामा अध्यापन गराउदै आएको क्याम्पसले विद्यार्थीको संलग्नतामा नियमित रुपमा नाटक मन्चन गर्ने योजना बनाएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जानकारी दिए ।



