साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’का निर्माण टिमले रोपाइँ गरेका छन्। असार १५ दिन पारेर सोमबार फिल्मका कलाकार,निर्माता तथा संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका हुन्। धान रोप्नका लागि फिल्मका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजता थापा,विद्या कार्की,संगीतकार बाबुल गिरी,निर्माताद्धय पूजा गुरुङ,जस्मिन श्रेष्ठ लगायतले रोपाईमा धान रोपेका छन्।

किसानकै कथा भएकाले फिल्मका सम्पुर्ण टिमले असार १५ मा रोपाइँमा सहभागी भएको निर्माता पूजा र जस्मिनले बताए। हिलोमा धान रोपिरहेका दुवै जनाले असार १५ भन्ने वितिक्कै मानो छरेर मुरी उब्जाउने भन्ने कुरा याद आउने मिडियाकर्मीलाई सुनाए। कलाकारहरुले पनि निकै खुशीका साथ धान रोपेर किसानलाई साथ दिए।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षको भनाई छ। समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जानकारी दिदै आएका छन्।

ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको छन्। साथै यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ,कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।
यस फिल्मको गीतमा चचित कलाकार दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ। फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। यस फिल्मका अन्य गीतहरूको कोरियोग्राफी भने निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।
कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस फिल्ममा छायांकन राहुल राईको छ। फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। साथै फिल्मको गीतमा निर्मात्र्री जश्मिन श्रेष्ठको शब्द पनि रहेका छन्।

यस फिल्ममा बाबुल गिरीको संगीत,गायन सुन्न सकिन्छ। साथै महिला स्वरमा चर्चित गायिका शान्ति श्री परियारले साथ दिएकी छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ। डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।



