नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीतसंगीत साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उहाँहरूलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जनाकारी गराउनुभयो ।

वान्तु र ढुंगेलले दशकौँदेखि नेपाली भाषा, साहित्य, गीतसंगीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानले नेपाली सिर्जनशील जगतलाई समृद्ध बनाएको छ । उहाँहरूको निरन्तर साधना, सिर्जना र सामाजिक उत्तरदायित्वको सम्मानस्वरूप यसवर्षको ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।
सिक्किममा जन्मिनुभएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय तथा सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ । सरकारी सेवाबाट अवकाशपछि उहाँ साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आउनुभएको छ । उहाँका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’लगायत कविता, कथा, गीत र नियात्रासम्बन्धी सात कृति प्रकाशित छन् । उहाँका साहित्यिक कृतिहरूले नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । ढुंगेल नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हुनुहुन्छ । साहित्यसँगै अभिनय क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ । उहाँले विभिन्न नाटक, चलचित्र तथा वृत्तचित्रमा अभिनय गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्नुभएको छ । हरि ढुंगेलको गीतकारका रूपमा पनि उतिकै ख्याति रहेको छ । उहाँका शब्दमा नेपाली संगीत क्षेत्रका चर्चित गायक–गायिकाले स्वर दिएका दर्जनौं गीत लोकप्रिय छन् ।
उहाँका चर्चित गीतमध्ये ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘गीत गुञ्जियो बैंश छरियो’, ‘लाग्यो लौ लाग्यो’, ‘के गरें मैले यो दुनियामा’, ‘शंकालु नजर धेरै छन्’, ‘एकदिनको भेटमा माया बस्यो’, ‘कहाँ पुग्छ र माया’, ‘इन्साफ खोज्न म आएको होइन’, ‘गाउँछौँ हामी मादलको तालमा’, ‘यो नाम्ची शहरमा’, ‘तिम्रो दिलको कोठाभरि’, ‘मैच्याङको मन त रमायो’, ‘जालहारीको जाल हो कि मायाको सञ्जाल’, ‘म त हराई सकेँ’, ‘धेरै साँच्न मन लाग्यो’लगायत गीत विशेष चर्चामा छन् ।
यस्तै, भोजपुरमा जन्मिनुभएका वरिष्ठ गीतकार अमर वान्तु नेपाली गीत-साहित्यका स्थापित नाम हो । बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने वान्तु परिवारकै सांगीतिक वातावरणमा हुर्किनुभएको थियो । उहाँका दाजुहरूले गिटार र हार्मोनियम बजाउने भएकाले बाल्यकालमै नारायण गोपाल, जेबी टुहुरेलगायत गीत गाउने वातावरण उहाँले पाउनुभयो ।
विद्यालय र कलेज जीवनदेखि नै गीत, कविता तथा साहित्यिक गतिविधिमा सक्रिय वान्तुले आफ्नो सिर्जनशील यात्रालाई निरन्तर अघि बढाउनुभयो । भोजपुरको दिल्पा अन्नपूर्ण विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि धनकुटा कलेजमा अध्ययन गर्नुभएका उहाँ गीतकार बन्ने सपना बोकेर वि.सं. २०४५ मा काठमाडौं आउनुभएको थियो । त्यसयता उहाँले नेपाली सांगीतिक क्षेत्रमा १५० भन्दा बढी गीत सिर्जना गरिसक्नुभएको छ । जीवन, प्रेम, समाज र दर्शनलाई सरल तर गहिरो भावमा प्रस्तुत गर्ने उहाँको लेखन शैली नेपाली गीतसाहित्यमा विशिष्ट मानिन्छ ।
उहाँका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता)कृति तथा ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम प्रकाशित छन् । यसबाहेक उहाँका थुप्रै गीत, कविता र गजल विभिन्न माध्यमबाट सार्वजनिक भइसकेका छन् ।
वान्तुद्वारा रचित ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘अरे क्यानाम’ ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, तिम्रै प्रवाह’, ‘आँखैको भाकैमा’, कसो गरी भरिएला सपनाको झोली’, ‘जिन्दगीको दौडमा’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, मार्यो सुड्डोले’, ‘चकमक झुलो दल्छिन ढुंगा’ लगायत गीत श्रोतामाझ लोकप्रिय छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् । गीतकार, कवि, गजलकार तथा सामाजिक अभियन्ताका रूपमा उहाँले नेपाली समाजमा सिर्जनात्मक चेतना फैलाउन निरन्तर योगदान दिँदै आउनुभएको छ । उहाँले गीतकार संघको अक्षयकोष र आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गर्नुभएको छ ।
आयोजकका अनुसार अमर वान्तु र हरि ढुंगेलको सम्मान केवल दुई व्यक्तिको योगदानको कदरमात्र नभई नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिको दीर्घकालीन सेवाप्रतिको सम्मान पनि हो । उहाँहरूको सिर्जनात्मक यात्रा आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
यसअघि दीर्घसाधना सम्मान विशिष्ठ संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा नेपाली गीत संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुनलागेको अवार्ड नेपाल-भारतका नेपाली भाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले यो संस्करण सिक्किमको राभङलामा साउन ३ गते अर्थात १९ जुलाईमा गर्न लागिएको आयोजकले जनाएको छ । यस अवार्डको अघिल्लो संस्करण थाइलण्याडको बैंककमा भएको थियो । हिमालयन अन्तर्राष्ट्रिय अवार्डले नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ ।



