वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भई निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ‘हली’ नेपाल प्रदर्शनमा आउनु अगावै साइप्रसमा भव्य रूपमा ‘सोल्ड आउट’ भएको छ। आगामी साउन २२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यस फिल्मको साइप्रस प्रदर्शन अधिकार शतप्रतिशत बिक्री भइसकेको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले जानकारी दिएका छन्।
शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्मलाई साइप्रसका वितरकले खरिद गरिसकेका छन् भने यतिबेला अन्य देशहरूमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि तीव्र कुराकानी भइरहेको निर्माण पक्षले जनाएको छ। अन्य देशको शो सुनिश्चित हुनासाथ छिट्टै मिडियामार्फत आधिकारिक जानकारी दिइने निर्माताद्वयको भनाइ छ।
प्रमोसनल गीत र आकर्षक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘हली’ को बजारमा व्यापक प्रचारप्रसार भइरहेको छ। गत वर्ष व्यावसायिक रूपमा सफल फिल्म ‘मोहर’ निर्देशन गरेका स्थापित निर्देशक तथा लेखक ओम प्रतीकको निर्देशनमा यो फिल्म तयार भएको हो। समाज र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि एउटै ‘हली’ पनि काफी हुन्छ भन्ने बलियो र गहन सन्देश फिल्मले बोकेको छ। अघिल्लो फिल्म जस्तै यस पटक पनि दर्शकले उत्तिकै माया दिनेमा निर्माण पक्ष पूर्ण रूपमा ढुक्क देखिएको छ।
व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य भूमिका रहेको छ भने स्वयम् निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिनेछन्।
फिल्मको मुख्य आकर्षणको रूपमा एउटा विशेष प्रमोशनल गीत समावेश गरिएको छ, जसमा नेपाली रजतपतका शीर्ष कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले कम्मर मर्काएका छन्। यो विशेष गीतको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् भने फिल्मका अन्य गीतहरूमा ओम प्रतीक र कविराजले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन्।
प्राविधिक तथा संगीत पक्षमा पनि फिल्म निकै बलियो छ। फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको उत्कृष्ट संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। देशभित्र र बाहिर एकसाथ तातिरहेको चर्चाले ‘हली’ ले हलमा राम्रो व्यापार गर्ने स्पष्ट संकेत देखाएको छ।



