चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता एवं फिल्म निर्देशक सन्तोष बाबु लोहनीले नौवटा नेपाली चलचित्रको जाँचपास गरेबापत प्राप्त सम्पूर्ण भत्ता उपचाररत कलाकार कोपिला थापालाई सहयोग गरेका छन्।
चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले गत असार महिनामा नौवटा नेपाली चलचित्रको जाँचपासबाट प्राप्त गरेको भत्ता चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको उपस्थितिमा थापालाई हस्तान्तरण गरेका हुन्।
करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी थापा गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि लामो समयदेखि उपचाररत उनको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि लोहनीले सहयोग गरेका हुन्।
लोहनीले आफूले काम गरेको क्षेत्रका मानिस अप्ठ्यारोमा पर्दा सोही क्षेत्रका व्यक्तिले सहयोग गर्नुपर्ने सोचका साथ यो अभियान सुरु गरेको बताए।
उनले नेपाली चलचित्रको जाँचपास गरेबापत आफूले प्राप्त गर्ने भत्ता आर्थिक, स्वास्थ्य तथा अन्य समस्यामा परेका चलचित्रकर्मीलाई प्रदान गर्ने निर्णय गरेका छन्। उक्त निर्णयअनुसार पहिलो महिनाको भत्ता कलाकार थापाको उपचारका लागि उपलब्ध गराइएको हो।
‘जुन क्षेत्रमा काम गरिएको छ, त्यही क्षेत्रका व्यक्ति समस्यामा पर्दा सक्दो सहयोग गर्नु हाम्रो दायित्व हो,’ लोहनीले भने, ‘चलचित्र जाँचपासबाट प्राप्त हुने भत्ता समस्यामा परेका चलचित्रकर्मीलाई प्रदान गर्ने निर्णय गरेको छु।’
उनले आगामी महिनामा चलचित्र जाँचपास गरेबापत प्राप्त हुने भत्तासमेत आवश्यकताका आधारमा समस्यामा परेका चलचित्रकर्मीलाई सहयोग गर्ने बताए।
कलाकार थापा हाल काठमाडौंको हात्तीगौंडास्थित एन्जल हेल्थ केयर सेन्टरमा उपचाररत छिन्।

