‘ला पुतान रेस्पेक्त्युज’मा आधारित नाटक ‘मिस मेनुका’ मञ्चन ‘ला पुतान रेस्पेक्त्युज’मा आधारित नाटक ‘मिस मेनुका’ मञ्चन

मेनुका यौनकर्मी हुन् । नाटककी केन्द्रीय पात्र पनि । सत्य बोल्नु उनको स्वभाव हो । तर सामाजिक दबाब र शक्तिशालीहरूको प्रभावले उनी स्वभावमा अडिइरहन सक्दिनन् । र, आफ्नो स्वतन्त्रता गुमाउन पुग्छिन् ।

गौरव, जगनन्नाथ शर्माको भतिजा । रात्रीबस चढेर काठमाडौं आउँदै गर्दा बसमा उनले तराईंका एक युवालाई मारेका हुन्छन् ।

अर्बिन्द पासवान तराईवासी दलित युवा हुन् । उनी रात्रीबसमा घटेको घटनाको साक्षी हुन्छन् । र, जगनन्नाथको परिवारले गौरवले गरेको हत्याको आरोप उनैमाथि लगाइरहेको हुन्छ । त्यसबाट बँच्न उनले मेनुकालाई गुहारिरहेका हुन्छिन् ।

नाटकमा प्रहरीहरू पनि छन् । तर, उनीहरूको भूमिका जगनन्नाथ शर्माको जाललाई सहयोग गर्नेमा मात्र सीमित छ।

विवेक जंग शर्मा, सांसद जगनन्नाथ शर्माको छोरो र गौरवको दाइ हो । मेनुकाको ग्राहक पनि । 

जगनन्नाथ शर्मा सांसद तथा राजनीतिज्ञ भइहाले । गौरवको काका । यिनी मीठा कुरा गर्न बडो खप्पिस छन् ।

र, यी पात्रहरू सम्मिलित नाटक मिस मेनुका : एक संवेदशीलन यौनकर्मी संवेदनशील छ ।

शीर्षकमा यही शब्द राखिएर होइन कि विषय उठानका आधारमा । प्रस्तुतीका आधारमा । नाटक हेरिरहँदा सकस र उकुसमुकुस भएन भने सम्बन्धित दर्शकले आफ्नोबारे सोच्नु पर्ने कुरा हो, भए विषयमाथि छलफल तथा बहस गर्नु नाटकको सूक्ष्म सामर्थ्य हो ।

हो, मिस मेनुका संवेदनशील छ । त्यसैले त ४० वर्षअघि सुनिल पोखरेलको निर्देशनमा आरोहण शनिबार समूहले मञ्चन गरेको यो नाटक तत्समयमा स्वेछिक स्थगन गरिएको थियो । 

अहिले तत्कालीन पञ्चायतकालीन संवेदनशीलता छैन । दर्शकहरूले नाटकलाई हेर्ने तरिकामा पनि थोरबहुत बदलाव आयो । विषयको संवेदनशीलता भने कतै न कतै रहिरह्यो ।  र, हुन सक्छ यी कारण नै शिल्पी थिएटरले पुन: यो नाटक मञ्चन गर्न तदकरुपता देखायो ।

नाटकमा एउटै सेटबाट कथा भनिएकाले लाइटको त्यति प्रयोग गरिएको छैन । तर, अडियोमा भने धेरै काम गर्नु पर्ने ठाउँ छाडिएको महसुस हुन्छ । केही ठाउँमा यही कारण कथादेखि बहकिन बाध्य परिने अवस्था समेत छ ।

मेनुकाको भूमिकामा रहेकी सरिता गिरी र विवेकको भूमिका रहेका घिमिरे युवराज लामो समय मञ्चमा देखिन्छन् । उनीहरूले सिगरेट साँच्चै तानेको पाटोलाई वेवास्ता गर्ने हो भने अभिनय त्यति क्लिसे लाग्दैन । यद्यपि कतिपय ठाउँमा उनीहरूबीचको संवाद बनावटी सुनिन्छ । प्रहरीको भूमिका रहेका सुधीर बस्नेत र जनक थापाको अभिनय सामान्य लाग्छ ।

समग्रमा, रुपान्तरण गरिएको नाटकले स्थानीय परिस्थितिको कथा भन्न सक्नु यो नाटकको सामर्थ्य हो । 

र, यसले हामीलाई संवेदनशील बन्न भने प्रेरित गर्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti