घरेलु हिंसा र नारी संवेदनाको कथा ‘अक्षरा’को टिजर रिलिज घरेलु हिंसा र नारी संवेदनाको कथा ‘अक्षरा’को टिजर रिलिज

विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। निर्माण टोलीले सोमबार युट्युब च्यानल ‘मुभिज डिजिटेनमेन्ट’मार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने कारुणिक परिणामाथि टिजर केन्द्रित छ।

फिल्ममा सुशील पोखरेलले बुबा तथा न्यान्सी खड्काले उनकी छोरीको भूमिका निर्वाह गरेका छन्। त्यसैगरी सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन्। रक्सीको लतमा मातेर श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक धाक देखाउने चरित्रमा सिटौला प्रस्तुत भएका छन्।

श्रीमानको कुटाई खाएपछि माइती पुगेकी छोरीले बुबासामु व्यक्त गरेको मार्मिक संवाद टिजरको मुख्य आकर्षण बनेको छ। टिजरमा न्यान्सी भन्छिन्,‘कतिन्जेल नारीले मात्रै आफ्नो घर(थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैँ आफू हार्नुपर्ने? छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिन र बा?’
यो डाइलकले दर्शकलाई फिल्मको कथालाई थोरै झल्काउने प्रयास गरेको देखिन्छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित यस फिल्मकी प्रस्तुतकर्ता सोनी थापा ‘ढुङ्गाना)हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। फिल्मको मूल कथा निर्माता उग्रसेन स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेलका साथै अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ।

साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको सङ्गीत रहेको छ भने अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले स्वर दिएका छन्। फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्। टिजर तथा ट्रेलरको काम साहिल खानको छ।

दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्। यो फिल्म आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।  

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti