२०८३ साउन २८ र २९ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको नेतृत्वमा नाट्य विभाग प्रमुख प्राज्ञ सरस्वती चौधरी, रंगमञ्च विभाग प्रमुख जीत बहादुर देउजा र प्राज्ञ सभासदस्य परिवर्तन सहितको टोलीले राजधानीमा रहेका ६ वटा नाटकघरमा पुगेर परामर्श गर्यो।

“हामीलाई आफ्नो देखेर आज हाम्रो दैलोमा आउनु नितान्त नयाँ र अत्यन्त सुखद अनुभव रह्यो’ उनीहरूले भने । १८ वर्षदेखि बाल नाटक महोत्सवलाई निरन्तरता दिइरहेको शैली थिएटरका नवराज बुढाथोकी निकै खुसी देखिए । यसरी ढोकैमा प्रज्ञा–प्रतिष्ठानको टोली आइपुग्दा पहिलोपटक आफूलाई नाट्यकर्मी भन्दा गर्व लागेको उनले बताए ।
राजधानी केन्द्रित रंगमञ्चलाई देशभर विस्तार गर्नुपर्ने, नाटक निर्माण र प्रदर्शनमा सहभागी प्राविधिक र कलाकारहरूको जीवनबीमा, अध्ययनका लागि छात्रवृत्ति, लेखनवृत्ति, राज्यबाट निर्धारित न्यूनत्तम पारिश्रमिक पाउन नाटक निर्माण पक्षसँग अग्रिम सम्झौता पत्र हुनुपर्ने, सुविधा र सहुलियत सहितको कलाकार परिचय पत्र पाउनुपर्ने, नाट्य प्रदर्शनका लागि राज्यका स्वामित्वमा रहेका थिएटर हलहरूमा शुल्क छुट हुनुपर्ने सुझावहरू आएका थिए।
रङ्गकर्ममा लामो यात्रा गरिसकेका सर्वनाम थिएटरका वरिष्ठ निर्देशक अशेष मल्ल, शिल्पी थिएटरका कलाकार तथा नाट्य निर्देशक घिमिरे युवराज, मण्डला थिएटरका चर्चित अभिनेता दयाहाङ राईदेखि हल भाडामा नाटक गर्दा काबु भएर आफैँ थिएटर चलाउन थालेका कलाकार सुरज तमुसम्म उनीहरू पुगे ।
सबैले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पाँचौँ कार्यकालसम्म आइपुग्दा पहिलो पटक आफ्नो दैलोमा आएकोमा सबैले प्रसन्नता व्यक्त गरे।
अभिनेता दयाहाङ राई केही फरक सुनिए । मण्डला नाटकघरले मात्र १५० भन्दा बढी नाटक र २०० भन्दा बढी कलाकार उत्पादन गरेको भन्दै उहाँले आफूहरू र देशभर मञ्चन भइरहेको नाटकहरूको सैद्धान्तिकरण गर्न प्रज्ञा–प्रतिष्ठानलाई अनुरोध गरे ।
रङ्गकर्मी प्रवीण खतिवडाले ७ वटै प्रदेशमा सरकारले थिएटर बनाउन बजेट बिनियोजन गरेको भन्ने सुनेको हुँदा यसले स्वतन्त्र रङ्गकर्मी (थिएटर नभएका) हरूलाई नाटक गर्ने वातावरणमा सघाउने बताए । घिमिरे युवराजले प्रज्ञा–प्रतिष्ठानको कुल बजेटमा रहेको कार्यक्रम खर्चलाई बढाउनुपर्ने मत प्रकट गरे । उनले निजी तथा सामुदायिक नाट्यसंस्थाहरूको संरक्षण गर्ने नीति बन्नुपर्ने, हचुवाका भरमा भइरहेका नाट्य महोत्सव तथा प्रशिक्षणहरूलाई बहुभाषिक र स्थानीय संस्कृतिमा आधारित बनाएर व्यविस्थित गर्नुपर्ने, कम्तीमा २ वटा नाटक उत्पादन गर्ने गरी प्रत्येक नाट्यसंस्थालाई अनुदान दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरे ।
नवनियुक्त कुलपति ब्रजेश खनालको एउटै जवाफ थियो, ‘प्रज्ञा–प्रतिष्ठानले आज ढोका खोलेको छ ।’ उनले सम्पूर्ण नाटकघरहरूलाई आ-आफ्नो गतिविधि र क्रियाकलाप पारदर्शी तवरले प्रज्ञाप्रतिष्ठानलाई नियमित रूपमा उपलब्ध गराई नेपाल सरकारको आधिकारिक डेटा-बेसमा सङ्ग्रहित र सुरक्षित राख्न पनि अनुरोध गरे । उनले प्राप्त सम्पूर्ण सकारात्मक सुझावहरूलाई द्रुत गतिमा सम्बोधन गरिने विश्वास दिलाए।





