सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘शुभ विवाह’को क्यामेरा पूजाअर्चना गर्दै औपचारिक छायांकन सुरु गरिएको छ। निर्माण टोलीले पर्यटकीय नगरी पोखराबाट फिल्मको सुटिङ थालेको हो।

४५ दिनको छायांकन तालिका निर्धारण गरिएको यस फिल्मका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेका छन्। सोही सेड्युल अनुसार आइतबारबाट सुटिङ सुरु गरिएको निर्देशक थापाले जानकारी दिए।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहनेछन्। निर्देशक थापा र अभिनेता खड्काले यसअघि सुपरहिट फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। लामो समयपछिको यो पुनर्मिलनलाई लिएर सिने वृत्तमा विशेष चासो देखिएको छ।
फिल्ममा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायतको अभिनय रहनेछ।
सुप्रिया कटुवाल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। रोमान्टिक कथावस्तुमा आधारित यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डिओपी), मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहनेछ। विक्रम स्वारको नृत्य निर्देशन रहने फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
त्यस्तै, बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह-निर्देशकका रूपमा रहेका छन्। मनोज लामाको ध्वनि, रोशन दिवानाको कला निर्देशन तथा सुदीप ढकालको प्रोडक्सन व्यवस्थापन रहने यस फिल्ममा शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ’बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले पाएका छन्।
फिल्मका लागि पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी) ले तयार पार्नेछन्। पब्लिसिटी डिजाइन आनन्द महर्जन, कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन् भने डेकोर पार्टनरका रूपमा गरिमा फ्लोरिस्ट रहेको छ।
विराज ढुङ्गाना कानुनी सल्लाहकार र भेष ढकाल लेखापरीक्षक रहेको फिल्मको एजेन्सी प्रसुन तिमिल्सिना (कार्यालय) हो। आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शन हुने यस फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भिष्म फिल्मस् र श्री राम बालाजीले गर्नेछन्।


