गायिका समीक्षा अधिकारीले पटक-पटक आउने फोनबाट आफू हैरान बनेको बताएकी छन् । आफूलाई रमेश शाही नाम गरेको बताउने व्यक्तिले डेढ वर्षको अवधिमा फरक-फरक नम्बरबाट फोन आइराख्ने बताउँदै ५०० पटक ती कललाई ब्लक गरेको उल्लेख गरेकी छन् ।
‘डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक-फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला । अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनुभएको छ, एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन’ उनी लेख्छिन् ।
समीक्षा लेख्छिन्- ‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ । फोन उठाउँदा ‘म रमेश शाही भन्नुहुन्छ, तर के कामले फोन गर्नुभएको ? भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न । एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ ।’
डेढवर्षसम्म यस्तो कुरा दोहोरिएपछि आफूले स्टाटस लेख्न बाध्य भएको समीक्षा बताउँछिन् ।
अझै पनि ती व्यक्तिले अरु व्यक्तिहरूको फोनमार्फत आफूलाई कल गर्ने गरेको दुःखेसो समीक्षाको छ । समीक्षाले सामाजिक सञ्जालबाटै आफूले भोग्नुपरेको यस्तो व्यवहारको खुलासा गरेकी छन् ।
कसैले माग्दैमा आफ्नो नाम बिनाकारण उपलब्ध नगराइदिन समीक्षाको आग्रह छ ।
‘उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला । साथै, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबैजनाले पनि कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइदिनुहोला’ उनी भन्छिन् ।
लेख्छिन्, ‘यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ । सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनुहोला ।’



