जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।
उनीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा गच्छेअनुसार सघाउन भन्दै बैंक खाताको विवरणदेखि क्यूआर पनि सामाजिक संजालमा सेयर गरिरहेका छन् । पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री नीता ढुंगाना, गायक प्रमोद खरेलले पनि प्रधानमन्त्री कोषमा रकम सहयोग गरेका छन् ।
सरकार उद्धार र राहतमा जुटिरहेको छ । अझै ८ सयभन्दा धेरै सम्पर्कविहिन भएको विवरण आइरहेका छन् । सरकारले विभिन्न बैंक खाताको क्यूआर सेयर गर्दै सघाउन नागरिकहरूलाई अपिल गरिरहेको छ ।
यस परिस्थितीमा कलाकारले पनि आर्थिक सहयोग धमाधम गरिरहेका छन् । मदनकृष्ण र हरिवंश आचार्य, अनमोल केसी, विराज भट्टसहितका प्रशस्तै कलाकारले क्यूआरमार्फत सरकारी खातामा अर्थ सहयोग गरेका छन् ।
अनमोल लेख्छन्, ‘आजको विपत्तिले फेरि सम्झाएको छ । दुःख कसैको ढोका ढकढक्याएर आउँदैन । आज हाम्रा बा, आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ, भोलि हामी मध्ये जो कोही पनि पीडित हुन सक्छौँ । मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु । अब तपाईंहरूलाई पनि विनम्र आग्रह गदर्छु । कम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो । यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ ।’
हरिवंशले लेखेका छन्, ‘बाडीको बितन्डताले देश रोई रहेको बेला पक्ष बिपक्ष नभनी देश बिदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गच्छे अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह) बाट एक एक लाख गरी २ लाख रुपैयाँ कोषमा सहयोग गर्दछौं ।’
अन्य फिल्मकर्मी, संगीतकर्मी र टिभी कलाकारले पनि सरकारी कोषमा सहयोग गरिरहेका छन् ।




