‘झिङ्गेदाउ २’ को भव्य प्रिमियर, शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन ‘झिङ्गेदाउ २’ को भव्य प्रिमियर, शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन

नेपाली कथानक फिल्म ‘झिङ्गेदाउ २’ को प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित प्रिमियर समारोहमा बुधबार साँझ फिल्मको प्रथम प्रदर्शनी गरियो ।

प्रिमियरपछि निर्देशक देउजा आफैँ पनि दर्शकको प्रतिक्रियालाई लिएर उत्साहित देखिए । उनले आफूले फिल्म बनाउँदा सक्दो प्रयास गरेको भए पनि आफ्नो कामलाई आफैँले पूर्ण मूल्याङ्कन गर्न नसक्ने बताए । वास्तविक मूल्याङ्कन दर्शकले गर्ने उनको भनाइ थियो ।

सो अवसरमा फिल्मको ‘कास्ट एन्ड क्रू’देखि अतिथि फिल्मकर्मी सहभागी थिए । सो अवसरमा फिल्मले सकारात्मक प्रशंसा बटुलेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।

शोमा फिल्म हेरेपछि अतिथिले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा-बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई फिल्मले प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारको मुख्य अभिनय छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा छन् । यो फिल्मको अघिल्लो भाग व्यवसायिक हिट भएको थियो ।

‘प्रिमियरकै फिडब्याकले खासै जजमेन्ट गर्न सकिँदैन, तर एकदमै पोजिटिभ फिडब्याक पाएको छु । मेरो कामको सही मूल्याङ्कन भयो कि भन्ने आशा गरेको छु,’ देउजाले भने ।

उनका अनुसार चलचित्रमा आँचल शर्मा र केकी अधिकारीले निर्वाह गरेका पात्र पनि कथाको मागअनुसार तय भएका हुन् ।

‘मैले सोचेको कुराहरू उहाँहरूले पर्दामा उतारिदिनुपर्यो, त्यो उहाँहरूले गरिदिनुभयो । सम्पूर्ण कलाकार साथै प्राविधिक टिमको ठूलो मेहेनत परेको छ,’ उनले भने ।

कपनगढी सिनेमा प्राालि र फिल्म क्रू नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्म पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको एड्भान्स टिकट बिक्री खुला भएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti