ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ । शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ।
शोको ग्रान्ड प्रिमियर स्वरुप पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । शोको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको थियो । पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी पाहुनाका रूपमा सहभागी भएका थिए ।

विगतका सिजनको तुलनामा चौथो सिजनमा जज प्यानलमा केही परिवर्तन गरिएको छ । सिजन १, २ र ३ मा जज रहेकी ऋचा शर्मा भने निरन्तर छिन् । अन्य तीन जज मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र शोका निर्देशक विशाल भण्डारी जोडिएका छन् ।
तीनवटै सिजनमा एउटै जज प्यानल रहँदा जोकको प्याटर्न र इनसाइड जोकहरू पनि उस्तै हुँदै गएकाले यसपटक केही भेरिएसन ल्याउन जज प्यानल परिवर्तन गरिएको निर्देशक भण्डारीले बताएका छन् ।
फरक जोक, नयाँ शैली र अझै फ्रेस रोस्ट प्रस्तुत गर्ने उद्देश्यले जज प्यानलमा परिवर्तन गरिएको उनको भनाइ छ ।
शोको सञ्चालनतर्फ पनि परिवर्तन गरिएको छ । कार्यक्रम सञ्चालकमा मेक्सम गौडेल निरन्तर छन् भने रीमा विश्वकर्मा सांसद बनेपछि उनको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ ।
निर्देशक भण्डारीका अनुसार चौथो सिजन करिब ३० एपिसोडसम्म सञ्चालन हुनेछ । थ्री प्रोडक्सन टिमको प्रस्तुति रहेको शोका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन्।
यसैबीच, निर्देशक विशाल भण्डारीले ‘कमेडी च्याम्पियन’सँग आफ्नो छुट्टै भावनात्मक सम्बन्ध रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत हरेक सिजन नयाँ-नयाँ प्रतिभाहरू कार्यक्रममा आउने र कमेडीको क्षेत्रमा आफ्नो करियर बनाउँदै जाने गरेको बताएका हुन् ।
नयाँ कलाकारको यात्राको साक्षी बन्न दर्शकलाई आग्रह गर्दै भण्डारीले ‘एउटा कमेडियनको हिरो फ्रम जिरो’ यात्राको साक्षी बन्नसमेत आह्वान गरेका छन् । ‘केही महिनापछि तपाईंको मञ्च, मेला र कार्यक्रममा प्रस्तुति दिएर लोटपोट हँसाउने कलाकार तयार हुँदैछन्,’ उनले लेखेका छन् ।
साथै उनले लुकेका कलाकार र उनीहरूको कलाकारिता यात्राको साक्षी बन्न पाउनु तथा उनीहरूको सफलताको कथा बुन्न पाउनु आफ्नो टिमका लागि गर्वको विषय रहेको उनले बताएका छन् ।
उनका अनुसार कोही कमेडीप्रतिको अनुभव र तयारीसहित कार्यक्रममा आउँछन् भने कोही केही जोक चलेपछि छनोट हुँदै प्रतियोगिताको यात्रामा प्रवेश गर्छन् ।

‘तर जसरी आए पनि सिजन सकिँदासम्म २/३ महिना दिनरात मेहनत गरेर अब्बल कलाकार भएर निस्कन्छन् र आफ्नो नाम बनाउँछन्’, भण्डारीले लेखेका छन् ।




