‘बाः एक योद्धा’ आजबाट प्रदर्शनमा आएको छ । काठमाडौं, नेपागञ्ज, दाङ, धरान र बुटवलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो ।

प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले दिव्य देवको सिने करियरकै ट्रनिङ पोइन्ट ‘बाः एक योद्धा’ बन्ने बताएका छन् । सुहाना थापाको अहिलेसम्मको फरक र राम्रो चलचित्र भनेर दर्शकले तारिफ गरेका छन् ।
प्रिमियरमा सहभागी दर्शकले चलचित्रको कथा धेरै परिवारसँग जोडिन सक्ने प्रतिक्रिया दिएका छन् । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई रिलिट गर्ने यो सिनेमाले प्रतिक्रिया पाएको छ ।
‘बा : एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ ।
‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।
यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको छ । ‘बाः एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ ।







