बा एक योद्धाको प्रदर्शन १०० शो पार दर्शकको साथ निरन्तर बा एक योद्धाको प्रदर्शन १०० शो पार दर्शकको साथ निरन्तर

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको चलचित्रले मंगलबारदेखि भने हलमा दर्शकको चाप बढाएको हो ।

मंगलबारदेखि सुरु भएको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटको प्रभावसँगै चलचित्रका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ । मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको चलचित्रका थुप्रै शोहरू दिनभर नै हाउसफुल भएको वितरकको भनाइ छ ।

बुधबार आइपुग्दा चलचित्रको शो संख्या पनि बढाइएको छ । वितरकका अनुसार देशभर चलचित्रले १ सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् । काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म चलचित्रप्रति दर्शकको चासो बढेको देखिएको छ ।

चलचित्रले दर्शकबाट पाइरहेको प्रतिक्रियामा भने भावनात्मक पक्ष प्रमुख देखिएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले ‘बाः एक योद्धा’ले आफूलाई भावुक बनाएको, रुवाएको तथा आफ्नै परिवार, आफन्त र छिमेकीले भोगेको जस्तो कथा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

विशेषगरी चलचित्रमा बाबुआमाले सन्तानका लागि गर्ने त्याग र संघर्षलाई प्रस्तुत गरिएको भन्दै दर्शकले प्रशंसा गरिरहेका छन् । कतिपय दर्शकले चलचित्र हेरेपछि आफ्ना बाबुआमालाई सम्झिएको र आफ्ना सन्तानलाई पनि यस्तो चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

सन्तानले आफ्ना अधिकारका विषयमा आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश चलचित्रले दिएको दर्शकको भनाइ छ । वृद्ध अवस्थामा पुगेका आमाबाबुले सन्तानबाट भोग्नुपर्ने पीडा र उनीहरूको जीवनभरको त्यागलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया छ ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्दै आएको चलचित्रको कलाकार टोलीले मंगलबार बढेको दर्शकको भीडले आगामी दिनप्रति आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन् । कलाकारहरूले हलमै पुगेर दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिइरहेका छन् ।

चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti