१८ वर्षपछि प्रेमचरो फर्किए चमेलीको पोइले हँसाउने तयारी १८ वर्षपछि प्रेमचरो फर्किए चमेलीको पोइले हँसाउने तयारी

चारैतिर तनाव, दुःख–पीर र विबिध समस्याका कारण आममानिसको दैनिकी प्रभावित भइरहेका बेला केही समय भए पनि ती चिन्ताबाट टाढा राख्दै हँसाउने, रमाउने र खुशी बनाउने उद्देश्यसहित  ‘चमेलीको पोइ’ आज, असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात, पारिवारिक सम्बन्ध तथा हास्यलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। दर्शकलाई विशुद्ध मनोरञ्जनात्मक फिल्म दिने ध्यये राखिएको फिल्मको पोस्टर,ट्रेलर र गीतले सबैको ध्यान तानिरहेको छ । रिलिज अघिबाटै सामाजिक सञ्जालदेखि युट्युबसम्म राम्रो चर्चा बटुलिसकेको यो फिल्मको  ‘माया मान्छौ र..’ गीतले अहिलेसम्म ३४ लाखभन्दा बढी भ्युज पाइसकेको छ भने सो गीतमा लाखौं टिकटक तथा छोटा भिडियोहरू निर्माण भइसकेका छन्। गीतको लोकप्रियताले फिल्मप्रति दर्शकको चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको शीर्ष गीत– ‘ओइ ओइ चमेली’ ले पनि १८ लाख पार गरिसकेको छ ।

१८ वर्षपछि पर्दामा ‘प्रेमचरो’

‘चमेलीको पोइ’को अर्को महत्वपूर्ण आकर्षण हुन् वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’। करिब १८ वर्षपछि उनी यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेका छन्। कुनै समय ‘प्रेमचरो’ नामबाट दर्शकमाझ लोकप्रिय त्रिपाठी लामो समय अमेरिकामा रहेपछि पुनः नेपाली फिल्ममा फर्किएका हुन्। उनको कमब्याकलाई चलचित्रको विशेष आकर्षणका रूपमा हेरिएको छ। त्रिपाठीले अमेरिकामा रहँदा पनि फिल्ममा फर्किने इच्छा रहेको र यही फिल्ममार्फत पुनः दर्शकमाझ आउन पाउँदा खुसी लागेको बताएका छन्। उनका अनुसार अमेरिकामा भएका विशेष प्रदर्शनबाट प्राप्त दर्शक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको छ ।

अमेरिकामा पायो दर्शकको माया

नेपालमा प्रदर्शन हुनुअघि नै अमेरिकाका विभिन्न स्टेटमा ‘चमेलीको पोइ’को विशेष प्रदर्शन भएका थिए। विशेष प्रदर्शनमा सहभागी दर्शकले फिल्म मन पराएको र हास्य तथा मनोरञ्जनप्रधान प्रस्तुतिको प्रशंसा गरेको निर्माण पक्षले जनाएको छ। अमेरिकामा रहेका नेपाली दर्शकमाझ गरिएको प्रदर्शनले फिल्मप्रति अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा बजारमा समेत चासो देखाएको छ ।

तनावका बीच हाँसोको खोजी

पछिल्लो समय सामाजिक, आर्थिक र व्यक्तिगत जीवनमा विभिन्न किसिमका तनाव र समस्याबाट गुज्रिरहेका दर्शकका लागि ‘चमेलीको पोइ’ले मनोरञ्जनको छुट्टै स्वाद दिने निर्माण पक्षको दाबी छ। फिल्ममा गम्भीर विषयलाई बोझिलो शैलीमा प्रस्तुत गर्नुभन्दा हास्य, प्रेम, पारिवारिक सम्बन्ध र भावनात्मक घटनाक्रममार्फत दर्शकलाई हँसाउने र रमाउने वातावरण तयार गर्ने प्रयास गरिएको निर्देशक बोहराले बताउदै आएका छन् ।

निर्देशक बोहराले फिल्म विशुद्ध मनोरञ्जनात्मक रहेको र दर्शकलाई साढे दुई घण्टा मनोरञ्जन दिनुका साथै भावनात्मक रूपमा पनि जोड्ने उद्देश्य रहेको बताएका छन्। अभिनेता मुकुन भुसालले फिल्मले दर्शकलाई भरपुर हँसाउनुका साथै केही ठाउँमा गम्भीर पनि बनाउने बताएका छन्। विल्सन विक्रम राई, उमेश राई (फुलन्देकी आमा) लगायत कलाकारले पनि फिल्मप्रति आफूहरू आशावादी रहेको बताएका छन्।

सुरक्षा–मुकुनसँगै हास्य कलाकारको ठूलो जमघट

फिल्ममा नारायण त्रिपाठीका साथमा सुरक्षा पन्त, मुकुन भुसाल मुख्य भूमिकामा छन्। साथमा विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, खड्कबहादुर पुनलगायत कलाकारको अभिनय छ। सुरक्षाले निर्देशक बोहरासँग यसअघि ‘भैरे’मा काम गरेकी थिइन्। ‘चमेलीको पोइ’मा आफूले चाहेजस्तो कथा, परिवेश र चरित्रमा काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरेकी छन्।

निर्माणमा अनुभवी टिम

यसअघि ‘अग्नी परीक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’,‘‘हेलो जिन्दगी’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका अनुभवी निर्देशक बोहराको यो फिल्म धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्। निर्देशक बोहरालाई लेखनमा शिवम अधिकारीले साथ दिएका छन्। शेरबहादुर तामाङको छायांकन, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गरेको छ। 

अब दर्शकको पालो

गीतले लाखौं डिजिटल पहुँच बनाउँदै गर्दा, १८ वर्षपछि ‘प्रेमचरो’को कमब्याकले थप कौतूहल जगाएको छ। अमेरिकाका विशेष प्रदर्शनबाट आएको सकारात्मक प्रतिक्रियापछि अब नेपाली दर्शकको पालो आएको छ। ‘माया मान्छौ र..’को प्रेम, ‘ओइ ओइ चमेली’को रमाइलो स्वाद, नारायण त्रिपाठी ‘प्रेमचरो’को लामो समयपछिको कमब्याक र हास्यप्रधान कथावस्तु बोकेर ‘चमेलीको पोइ’ आजदेखि देशभरका हलमा पुगेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti