अभिनेत्री करिश्मा श्रेष्ठले आफ्नो आगामी रिलिज ‘११:५५’ मा आफ्नो भूमिका ‘ग्रे’ रहेको बताएकी छन्। फिल्म भोलि शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।
‘यसमा मेरो ‘ग्रे’ क्यारेक्टर छ। मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ, यस्तो भूमिका गर्छु भनेर सोचेको पनि थिइनँ,’ उनले भनिन्, ‘त्यो क्यारेक्टर निभाउन निकै चुनौतीपूर्ण भयो। मलाई चुनौती मनपर्छ, त्यसैले स्वीकार गरेँ। मेरो क्यारेक्टर दर्शकले नोटिस गर्छन् भन्नेमा म विश्वस्त छु।’
त्यसैगरी, उनले फिल्म आफूले फरक भूमिकामा काम गर्ने चाहनाअनुसारको भएकाले खुशी व्यक्त गरिन्।
‘मैले अब फिल्म गर्दा फरक–फरक चरित्रमा काम गर्छु भनेर सोचेको थिएँ। ‘११:५५’ मा त्यो पाएँ। स्क्रिप्ट, क्यारेक्टर र टिम राम्रो लागेपछि यो फिल्म गरेकी हुँ,’ उनले भनिन्।
मर्डर मिस्ट्री पेस गर्ने ‘११:५५’ फिल्म नेपाली दर्शकका लागि रुचिकर हुने उनको बुझाइ छ।
‘११:५५ बजे एउटा मर्डर हुन्छ। फिल्मको कथा नै त्यस वरिपरि घुम्छ। यसमा फरक-फरक क्यारेक्टर छन्, र हरेकले आफ्नै तरिकाले जीवन बाँचेका छन्। त्यही बीचमा अचानक एउटा हत्या हुन्छ, जसमा सबैजना संलग्न जस्तो देखिन्छन्। अनि त्यसको अनुसन्धानमा फिल्म केन्द्रित हुन्छ।’
त्यसैगरी, फिल्ममा प्रत्येक १५ मिनेटमा ट्विस्ट आउने भएकाले दर्शकलाई बाँधिराख्ने उनको विश्वास छ। उनले फिल्म नयाँ आइडियामा बनेको दाबी गरिन्।
‘नयाँ आइडियामा बनेको फिल्म हो। दर्शकलाई ‘स्योरसट’ मनपर्छ भनेर भन्न सक्दिनँ, मनै पर्दैन पनि भन्न सक्दिनँ। तर, फिल्म रोचक लाग्न सक्छ,’ उनी भन्छिन्, ‘प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ। उत्सुकता जगाउने फिल्मप्रति रुचि राख्ने दर्शकलाई पक्कै मनपर्छ।’
करिश्माको पछिल्लो रिलिज ‘मायावी’ हो।