फिल्म ‘१२ गाउँ २’ को ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । ‘१२ गाउँ २’को अघिल्ला सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गीतमा देखिन्छ । चलचित्रलाई एक्सनको आवरणमा प्रस्तुत गरिए पनि यसको कथामा प्रेम र सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत गीतहरूले दिइरहेका छन्।
विशेषगरी ‘रेशमी रुमाल’को प्रस्तुति हेर्दा निर्माण पक्षले चलचित्रका गीतलाई केवल प्रचार सामग्रीका रूपमा नभई कथाको भावनात्मक पक्षसँग जोड्ने प्रयास गरेको देखिन्छ । ‘जुनेली’ले सुरुवातमा समीर–कृशुको जोडीलाई दर्शकमाझ चिनायो भने ‘लालीगुराँस’ले उनीहरूको प्रेमलाई थप नजिक ल्यायो । अब ‘रेशमी रुमाल’ले विराज र वर्षाको जोडीको सम्बन्धलाई अर्को तहमा पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
‘१२ गाउँ २’को सबैभन्दा ठूलो आकर्षण भने यसको एक्सन नै हो । फिल्मको टिजर सार्वजनिक हुँदा निर्माण पक्षले एक्सन, द्वन्द्व र बदलाको कथालाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको थियो । तर गीतहरू सार्वजनिक हुँदै जाँदा फिल्ममा एक्सनसँगै प्रेम, भावना र पारिवारिक सम्बन्धको पाटो पनि रहेको देखिँदै गएको छ ।
यसले फिल्मप्रतिको दर्शकको उत्सुकता अझ बढाएको छ । किनकि एक्सन फिल्मको अपेक्षा गरेर हल पुग्ने दर्शकले त्यहाँ केवल द्वन्द्व मात्रै नभई प्रेमकथा र भावनात्मक उतारचढाव पनि पाउने संकेत गीतहरूले गरेका छन् ।
चलचित्रमा बिराज, समीर, कृशु र वर्षाका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाटबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको ठूलो चाड मानिने दशैंमा दर्शक तान्न यही मिश्रणलाई आफ्नो प्रमुख हतियार बनाउने देखिन्छ । एक्सन, प्रेम, नयाँ पुस्ताका कलाकार र विराज भट्टको नामसँग जोडिएको ब्रान्ड यी सबै कारणले यो चलचित्रप्रति अहिले नै दर्शकको चासो बढेको छ।







