तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘बाः एक योद्धा’ले बलियो वर्ड अफ माउथका कारण आफ्नो रफ्तारलाई कायम राखेको छ । दर्शकले घरघरको कथा भन्दै हेर्नै पर्ने सिनेमा भएको प्रतिक्रिया दिएपछि चलचित्र तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।
कलाकार र निर्देशकसहितको निर्माण टिम पनि मोफसलका दर्शकलाई भेटेर काठमाडौं फर्किएको छ । हटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, पोखरालगायत देशका विभिन्न ठूला सहरका हलमा पुगेर दर्शक भेटेर निर्माण टोली काठमाडौं फर्किएको छ ।
“हामीलाई काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो । हेर्नै पर्ने सिनेमा भनेर दर्शकले प्रतिक्रिया दिनु भएको छ,” निर्देशक हरि लम्सालले भने, “दर्शकको साथ र मायाले हामी अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।”
चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।







