विकास बोर्डका समितिमा विज्ञ खोज्दै खुला आह्वान विकास बोर्डका समितिमा विज्ञ खोज्दै खुला आह्वान

चलचित्र विकास बोर्डका अध्यक्ष मनीष मण्डितले बोर्डअन्तर्गतका सम्पूर्ण समितिलाई थप व्यवस्थित, प्रभावकारी र विशेषज्ञतामा आधारित बनाउँदै संस्थागत कार्यप्रणालीलाई सहभागितामूलक बनाउने उद्देश्यसहित समितिका सदस्यहरूका लागि खुला आह्वान गरेका छन्।

बोर्डको दैनिक कार्य सञ्चालन, नीतिगत निर्णय, योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनमा समितिहरूको भूमिकालाई थप बलियो बनाउने लक्ष्यसहित बोर्डले पहिलोपटक सार्वजनिक रूपमा इच्छुक चलचित्रकर्मी तथा विषयगत विज्ञहरूबाट आवेदन माग गरेको हो।

यस पहलअन्तर्गत बोर्डका विभिन्न समिति तथा तिनका कार्यक्षेत्र (Wings) लाई विज्ञता र विशेषज्ञताका आधारमा थप स्तरोन्नति गर्दै सम्बन्धित विषयका जानकार, अनुभवी र दक्ष व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

अध्यक्ष मण्डितको अवधारणाअनुसार बोर्डका कामकारबाही केही सीमित व्यक्तिको सुझाव र सहभागितामा मात्र निर्भर नभई चलचित्र क्षेत्रका विभिन्न विधामा क्रियाशील विज्ञ तथा सरोकारवालाको सामूहिक ज्ञान, अनुभव र सुझावबाट अघि बढ्नुपर्छ। यसले दैनिक सञ्चालनका कामदेखि दीर्घकालीन नीति निर्माण र कार्ययोजना कार्यान्वयनसम्म समितिहरूलाई प्रभावकारी सहयोगी संरचनाका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

यसअघि समितिमा सदस्य मनोनयन तथा आबद्धता गर्दा व्यक्तिगत पहुँच, निकटता र सहज उपलब्धताका आधारमा अवसर सीमित हुने गरेको भन्ने गुनासो चलचित्र क्षेत्रमा सुनिँदै आएको थियो। तर, यसपटक सार्वजनिक रूपमा आवेदन आह्वान गरिनुले विज्ञता, योग्यता, अनुभव र रुचि भएका जोकोहीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। यसलाई बोर्डको कार्यप्रणालीमा पारदर्शिता र सहभागिता विस्तार गर्ने सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।

बोर्डले चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका व्यक्ति, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम र परियोजना सञ्चालनसम्बन्धी मोडालिटी विज्ञलगायत चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा दक्षता भएका व्यक्तिहरूलाई समितिमा सदस्यका रूपमा आबद्ध हुन आवेदन दिन आग्रह गरेको छ।

इच्छुक व्यक्तिहरूले आफ्नो विषयगत विज्ञता खुल्ने गरी व्यक्तिगत विवरण (CV) सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको इमेल [email protected] मा पठाउन सक्नेछन्। थप जानकारीका लागि WhatsApp नम्बर ९८०३४१२९५६ मा सम्पर्क गर्न सकिनेछ।

बोर्डका समितिहरूलाई केवल औपचारिक संरचनामा सीमित नराखी दैनिक कार्य सञ्चालन, नीति निर्माण, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र संस्थागत निर्णय प्रक्रियामा सक्रिय तथा जिम्मेवार बनाउने यो प्रयासले चलचित्र विकास बोर्डको कार्यक्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

समग्रमा, अध्यक्ष मण्डितको यो पहलले चलचित्र क्षेत्रका विज्ञ, अनुभवी र इच्छुक व्यक्तिहरूलाई संस्थागत विकासमा सहभागी गराउँदै सामूहिक सुझाव, परामर्श र विशेषज्ञताको आधारमा बोर्डको आगामी कार्ययोजनालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti