दुई नेपाली सिनेमा ‘११:५५’ र ‘द्रौपदी’ आजबाट नेपाली वक्सअफिसमा रिलिज भएका छन् ।
‘११:५५’ले देशभर ६० शो र ‘द्रोपदी’ले ४५ शो पाएको छ ।
यी दुई सिनेमासँगै नेपाली वक्सअफिसमा चल्ने सिनेमाको संख्या १० पुगेको छ । यी दुई सिनेमाका अलाबा ५ नेपाली र ३ विदेशी सिनेमा नेपाली हलहरुमा प्रदर्शन भइराखेका छन् ।
नेपालीतर्फ ‘आउटल: दफा २१९’, ‘राजागंज’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ छन् भने विदेशीतर्फ ‘स्नो ह्वाइट’, ‘मिकी १७’ र ‘छावा’ चलिरहेका छन् ।
यस परिस्थितिमा आज रिलिज भएका दुई सिनेमालाई नेपाली दर्शकलाई आफूतर्फ आकर्षित गर्नुपर्ने चुनौती छ ।
आज रिलिज भएकोमध्ये ‘११:५५’लाई केशव पाण्डेले निर्देशन गरेका हुन् । यो सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यू अभिनेता सागर खनालको अभिनय रहेको छ ।
सिनेमाको लेखन केशव पाण्डे, एमएस अग्रज र शेखर ज्ञवालीको रहेको छ । बिचित्र फिल्म्स र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यस सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् ।
यसैगरी ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’मा ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक आचार्यको आफ्नै लेखन रहेको यस सिनेमाको निर्माण आरबी मुभिजको व्यानरमा भएको हो । निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली, तथा सह-निर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई रहेका छन् ।