मेरिल्याण्डमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने मेरिल्याण्डमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, सिनेमा, तथा समाज विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ।

२१ जुलाईमा मेरिल्याण्डमा आयोजना हुने समारोहमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिनेछ। मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीस्थित ‘रमादा विन्डहम (१७०० बाम वाइबर रोड, एजवुड)’ मा हुने कार्यक्रममा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।

अमेरिकामा बसेर विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विशेष सम्मान प्रदान गरिनुका साथै नवप्रतिभाहरूलाई प्रोत्साहनस्वरूप राष्ट्रिय सम्मान दिइने इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले जानकारी दिए। समारोहमा अमेरिका तथा विश्वभर छरिएका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका कलाकार, खेलाडी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

इनासले दशैं, तिहार, तीज, फागु पूर्णिमा, नयाँ वर्षजस्ता चाडपर्वका अवसरमा फिल्म फेस्टिभल, स्रष्टा सम्मान, अवार्ड, बाल प्रतिभा जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमको उद्देश्य स्रष्टाहरूबीच एकता कायम गर्दै नेपाली संस्कृतिको प्रवर्द्धन गर्नु रहेको जनाइएको छ।

इनासको इतिहास २६ अगस्ट, २०१२ मा युरोपको पोल्याण्डबाट सुरु भएको हो। सन् २०१४ मा भर्जिनियाबाट इनास अमेरिकाको औपचारिक सुरुवात भएको थियो। हाल मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायतका राज्यहरूमा यसको शाखा विस्तार भइसकेको छ।

‘इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ सन् २०२२ मा संस्थाका पूर्वअध्यक्ष कन्हैया सिंह परियारको कार्यकालमा सुरु गरिएको थियो। प्रत्येक दुई वर्षमा आयोजना गरिने यो विशेष सम्मान कार्यक्रममा यस पटक दोस्रो संस्करण प्रस्तुत गरिँदै छ।

कार्यक्रमलाई भव्य बनाउन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी इनास मेरिल्याण्डले लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका लागि पर्यटन प्रवर्द्धक राजु पराजुलीले ‘इनास राष्ट्रिय सम्मान २०२५’ मा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेका अनुसार अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवर्द्धनका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ। समारोहमा नेपालबाट विशेष अतिथि कलाकारहरूलाई समेत निमन्त्रणा गरिएको उनले जनाए।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti