वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा, दुई पोस्टर सार्वजनिक वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा, दुई पोस्टर सार्वजनिक

अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् । बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन्, यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।

यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने नेपालको पहिलो सिरिज रहेको निर्देशकले अधिकारीले बताए । “नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु,” अधिकारीले बताए ।

सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो । टिजर तथा गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्छन् । अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए ।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ, जसले सिचुएशनल कमेडी-ड्रामा प्रस्तुत गर्नेछ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक बिमलेश अधिकारीले बताए ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् भने निर्देशक अधिकारी पनि कलाकारको रूपमा प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ र, शान थापाले पोस्टर डिजाइन गरेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti