महाभोज’का दुई नयाँ पोस्टर सार्वजनिक, मंगलबार टिजर आउँदै महाभोज’का दुई नयाँ पोस्टर सार्वजनिक, मंगलबार टिजर आउँदै

बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।

यसै तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमध्ये एउटामा फिल्मका प्रमुख ६ कलाकार — आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत — समेटिएका छन्।
पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएको छ, जसले फिल्ममा राजनीतिक र सामाजिक सन्देश समेटिएको सङ्केत गर्छ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा ती ६ प्रमुख कलाकारसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरू पनि देखिन्छन्।
दुवै पोस्टर रोयल भीमसेनले डिजाइन गरेका हुन्।

फिल्मका निर्देशक दिनेश राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मंगलबार टिजर सार्वजनिक गरिने जानकारी दिएका छन्।
उनका अनुसार महाभोज मनोरञ्जनको प्याकेज मात्र नभएर दर्शकलाई सोच्न बाध्य बनाउने कथा हो।
उनले भने, “समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस फिल्ममा उजागर गर्ने प्रयास गरेको छु।”

महाभोज सामाजिक यथार्थमा आधारित फिल्म हो, जसले नेपाली समाजको वर्ग संघर्षलाई प्रस्तुत गर्छ।
यसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यन सिग्देलका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ।

फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण गरिएको हो भने निर्माता हिमाल कडरिया हुन्।
फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्।

निर्माण पक्षका अनुसार फिल्म नेपालसँगै नेपालीहरूको बसोबास भएका अधिकांश मुलुकहरूमा एकसाथ प्रदर्शनमा ल्याइनेछ।

सामाजिक यथार्थमा आधारित विषयवस्तु, बलियो स्टार कास्ट, सशक्त निर्देशन र समसामयिक सन्देश समेटिएको महाभोज दर्शकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti