जितु र केकी ‘ग्रामीण फिल्म महोत्सव’मा बने उत्कृष्ट जितु र केकी ‘ग्रामीण फिल्म महोत्सव’मा बने उत्कृष्ट

अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन्। शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामीण फिल्म महोत्सव’मा उनले फिल्म ज्वाई साव बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन्। सोही कार्यक्रममा अभिनेत्री केकी अधिकारी फिल्म बोक्सीको घर बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा बैशाख ४ गते बिहीबारदेखि सुरु भई बैशाख ६ गते शनिबार सम्पन्न उक्त महोत्सवमा अभिनेता प्रदीप खड्काले पूजार सार्की फिल्मबाट ‘बेष्ट एक्टर (जुरी)’ अवार्ड प्राप्त गरे। ‘बेष्ट म्युजिकल सर्ट फिल्म’को अवार्ड प्याकुली का रामहरी खड्काले प्राप्त गरे भने ‘बेष्ट कल्चर फिल्म’ आप्लेङ ला नाम्शा का शेखर लामाले र ‘इन्करेजमेन्ट अवार्ड’ प्याकुली बाट रोनिस खड्काले पाए।

‘बेष्ट सर्ट फिल्म’को अवार्ड निर्मल पौडेलको ‘म कमरेड’ हुँदा सबिर श्रेष्ठको माझी बेस्ट डकुमेन्ट्री बन्यो भने मिलन चाम्स निर्देशित अञ्जीला सर्वोत्कृष्ट बन्यो ।

महोत्सवमा ‘बेष्ट सम्पादक’ भरत रेग्मी (पूजार सार्की), ‘बेष्ट छायांकन’ शिवराम श्रेष्ठ (बोक्सीको घर), ‘बेष्ट निर्देशक’ मिलन चाम्स (अञ्जीला), ‘जुरी मेन्सन अवार्ड’ ऋषिराज आचार्य (द्रौपदी), ‘जुरी अवार्ड निर्देशक’ बसन्त निरौला (ज्वाई साव), र ‘बेष्ट भिजुअल इफेक्ट’ फिल्म बोक्सीको घर का मनोज श्रेष्ठले जिते।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे।

तीन दिनसम्म लगातार सञ्चालन भएको महोत्सवमा साना–ठूला गरी २२ वटा फिल्म प्रदर्शन गरिएको थियो। दर्जनौं फिल्मकर्मी र रंगपत्रकारहरूको सहभागिता रहेको महोत्सवको समापन ३०औँ वन्यजन्तु सप्ताह, चौथो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ र १३औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना गरी गरिएको थियो।

महोत्सवको उद्घाटन नेपाली महिला फुटबल टोलीकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जीला प्रदर्शन गरेर गरिएको थियो। पहिलो दिन बैशाख ४ गते अञ्जीला सँगै पूजार सार्की, ज्वाई साव, र बोक्सीको घर फिल्म पनि प्रदर्शन गरिएको थियो।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै फिल्म’ भन्ने मूल नारासहित सेलीब्रेटी नेपालले नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनले महोत्सवले गाउँ–गाउँमा फिल्म संस्कृतिको विकासमा योगदान पु¥याउने बताए।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई नगद रु ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ प्रदान गरियो भने लाज शरणम फिल्मका निर्माता नविन श्रेष्ठलाई सम्मानित गरियो। विगत चार वर्षदेखि नियमित हुँदै आएको महोत्सवले निरन्तरता पाउने जानकारी पनि अध्यक्ष सापकोटाले दिएका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti