नेपाली रजतपटमा अनुप विक्रम शाही सक्रिय भएको झन्डै डेढ दशक हुन लागेको छ। २०६८ सालमा ‘मेरो माया तिमीलाई’ मार्फत डेब्यू गरेका अनुप नेपाली रजतपटका चिनिएका ‘भिलेन’ हुन्।
सपना हिरो बन्ने भए पनि अनुपलाई निर्माता, निर्देशक र दर्शक तीनै पक्षले ‘भिलेन’ अवतारमै मन पराए। फिल्ममा आएको डेढ दशक हुन लाग्दासमेत अनुप कुनै विशेष पात्रको रूपमा चिनिन भने अझै बाँकी छ।
उनी औसत अभिनेताबाट माथि उठ्ने अवसर (वा भनौं चुनौती) पाइरहेका थिएनन्। ‘वाह! क्या गजब’ भन्ने भूमिकामा उनी अनुमोदित भइसकेका छैनन्।
तर यसपटक भने अनुपको आशा चुलिएको छ। आशा चुलिनुको कारण हो — चर्चित साहित्यकार इन्दुबहादुर राई लिखित ‘जार’ कथामाथि बनेको सोही नामको फिल्म।
लोकप्रिय कथामाथिको सिनेम्याटिक प्रस्थान कस्तो होला भन्नेमा एउटा विशेष वर्गले यो फिल्म पर्खिरहेको छ। यसमा पनि विशेषगरी साहित्य अनुरागीहरू ज्यादा छन्।
रिलिजपछि यसबारे अर्कै खालको बहस हुनेछ, जुन आम नेपाली फिल्म रिलिजपछि हतपत हुँदैन।
यस्ता फिल्मभित्र अनुपले कहिल्यै आफूलाई देखेका थिएनन्, जसका कारण प्रस्ताव आउँदा उनी अचम्भित बने।
‘फिल्मको कुरा आउनु… कतै कतै यो कथाको बारेमा सुनेको थिएँ मैले। विशेषगरी सौगात दाइको मुखबाट सुनेको थिएँ। अनि अचानक मेरो थैलिएमा यो फिल्म आयो। प्रस्ताव आएपछि म — ए! हो र? — भनेर अचम्भित भएँ,’ उनले भने।
प्रस्ताव आएपछि उनलाई आफूले कथा र पात्रमाथि न्याय गर्न सकूँला र? भन्ने शंका पनि थियो।
तर निर्देशक फुर्वा छिरिङ लामाले अनुपमा ‘हर्षजीत’ भेटे र आफूले भेटेको हर्षजीतलाई अनुपसँग पनि परिचय गराइदिए।
‘त्यसपछि मैले “जार” के रहेछ भनेर केलाउन थालेँ। यसको कथा, इतिहास बुझ्न थालेँ। त्यसबाट मैले धेरै कुरा सिक्न पाएँ। अझ पनि कति जनालाई “जार” भनेको थाहा छैन। यसको श्रेय निर्देशक फुर्वा सरलाई जान्छ,’ अनुप भन्छन्।
सूत्रात्मक पात्र मात्र गर्दै आएका अनुपले यसलाई एउटा चुनौती भन्न रुचाउँछन्। उनलाई भूमिकामा ढल्न गारो पनि भएको थियो।
चुनौतीपूर्ण भए पनि उनले फिल्म गरे। यसको श्रेय उनी निर्देशकलाई दिन्छन्।
रिलिजपछि अनुपले आफ्नो अभिनेताको हाल कायम रहेको परिचय फेरिने आशा लिएका छन्।
फिल्म वैशाख २६ गते रिलिज हुँदैछ।