समीक्षात्मक रूपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’ सेलिब्रेटीहरूले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा फिल्म हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईंको काम मन पराएका छन्।
फिल्म हेरेर बाहिरिँदा अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने, ‘एकदम राम्रो लाग्यो। सबैजनाको अभिनय जोडदार छ। एक्सन पनि त्यस्तै दमदार छ। निर्देशन पक्ष पनि राम्रो छ। कलाकार त एक ट्रकजति हुनुहुँदो रहेछ। सबैको काम एकदमै राम्रो लाग्यो।’
उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमिल्सेनाले पनि सबै पक्ष राम्रो लागेको बताइन्। केदारसँगै प्रतिक्रिया दिने क्रममा उनले भनिन्, ‘एकदम राम्रो लाग्यो। हाम्रो देशमा भएका घटनाहरूको प्रस्तुति छ। जस्तो एकल महिलाहरूले भोग्ने समस्याहरू उठाइएको रहेछ, राम्रो लाग्यो।’
अस्ट्रेलियामा लामो समय बसेर नेपाल फर्किएका अभिनेता तथा निर्देशक शोभित बस्नेतले पनि फिल्मको तारिफ गरे। उनले अस्ट्रेलियामा हुँदा पनि हेरेको र आज नेपालमा दोहोर्याएर हेरेको बताए। फिल्म हेरेर निस्कँदा उत्साहित देखिएका बस्नेतले भने, ‘यो फिल्ममा सबै पक्षको काम राम्रो छ। कलाकारहरूले निकै राम्रो काम गरेका छन्। सौगात मल्ल र प्रमोद अग्रहरीलाई त मनमनै सलाम ठोकें।’
उनले निर्देशन पक्षको समेत तारिफ गरे।
हालै आफ्नै निर्देशनमा फिल्म ‘परान’को छायांकन सकाएर काठमाडौं फर्किएका दीपक आचार्य (काकु) ले फिल्मको तारिफ गरेर थाकेनन्। उनले भने, ‘मैले अघि नै भनिसकेँ, कृषाजीको हिम्मत र आँटलाई मैले मानेको छु। हामीले सलाम गर्नुपर्ने पात्र हो। यस्तो लेभलको एक्सन मुभी सायद नेपालमै पहिलोपटक बनेको हो।’
उनले फिल्मका फाइट निर्देशक र क्यामेराम्यानको समेत खुलेर प्रशंसा गरे। हास्य अभिनेता राजाराम पौडेल पनि फिल्म हेर्न हलमा पुगेका थिए। उनले पनि निर्देशक कृषाको खुलेर प्रशंसा गरे। उनले भने, ‘अति राम्रो फिल्म बनाउनु भएको रहेछ कृषाजीले। उहाँको हिम्मत र आँटलाई मान्नैपर्छ।’
उनको भनाइमा सबै कलाकारले बराबरी रूपमा योगदान दिएका छन्।
यस फिल्मका प्रमुख कलाकारहरूमा सौगात मल्ल, सुरक्षा पन्त, प्रदीप खड्का, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराई छन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्सको व्यानरमा निर्माण भएको यस फिल्ममा कृषा चौलागाईंको निर्देशन छ। फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुष दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता हुन्। प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा तथा संवाद लेखेका छन्।
फिल्मको डीओपी पुरुषोत्तम प्रधान हुन् भने शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायांकन गरेका छन्। बन्दे प्रसादले सम्पादन तथा ट्रेलर निर्माण गरेका छन्। कालाचरणले पाश्र्व संगीत दिएका छन्। रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ।
फिल्म आरआर फिल्म्सले वितरण गरेको हो। ‘पिताम्बर’ फिल्म गत चैत २९ गतेदेखि नेपालका अधिकांश हलहरूमा प्रदर्शन भइरहेको छ।