आगामी जेठ २३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक गरिएको छ।
हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयवस्तुलाई संयोजन गरेर तयार पारिएको पोस्टरमा फिल्मका सबै मुख्य कलाकार फिचर गरिएको छ। पोस्टरमा धेरै कलाकारहरू देखिन्छन् भने सबैभन्दा अगाडि गुलाबी चश्मा लगाएको एउटा बाख्रो देखिएको छ। सार्वजनिक पोस्टर रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो।
पोस्टरमा देखिएका पात्रहरूको हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत दिन्छ। पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन्। बाख्रोलाई पोस्टरको केन्द्रीय पात्रका रूपमा प्रस्तुत गरिनुले कथावस्तुमा रहस्यात्मक र हास्यपूर्ण मोडहरू हुने संकेत गर्छ।

सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। सार्वजनिक गरिएका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकबाट मन पराइएका छन्।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई “जन्ते बाख्रो” भन्ने गरिन्छ, र फिल्मको कथा यही प्रचलनमा आधारित छ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

 
        


 
                                 
                                 
                                 
                                 
                                