यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को सिक्किममा ग्रान्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली फिल्म उद्योगमा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरूको उपस्थिति थियो।
फिल्मको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो। ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकले भरिएको थियो। पारिवारिक कारणले अभिनेत्री गीताञ्जली थापा भने आफ्नै फिल्मको पहिलो प्रिमियरमा सहभागी हुन सकिनन्।
फिल्म हेरेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। पर्दामा फिल्म हेर्दै केही घण्टामात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी हुन पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिन्थे। कलाकार, निर्देशन, सिनेमाटोग्राफी, बीजीएम (पृष्ठभूमि संगीत) र भीएफएक्सलाई दर्शकले प्रशंसा गरे। गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत पनि प्रशंसाको केन्द्रमा रह्यो। नव–कलाकार सुस्मिता भुजेलको अभिनयलाई दर्शकले खुलेर स्वागत गरे।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए। नेपाली मौलिकता प्रस्तुत गरेको ‘जार’ अभिनय, निर्देशन र प्राविधिक पक्षमा पनि अब्बल बनेको उनको भनाइ छ। “धेरै फिल्ममा निर्देशकलाई भेट्न गाह्रो हुन्छ, तर यो फिल्ममा हरेक दृश्यमा निर्देशकलाई महसुस गर्न सकिन्छ। लामो दृश्यहरूमा संवाद नहुनु हुँदाहुँदै पनि निर्देशकले दर्शकलाई बाँध्न सक्नु भएको छ। नेपाली फिल्मले एक सृजनात्मक मेकर पाएको छ,” साम्तेनले भने।
दिग्गज अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए। कलाकारको अभिनय र निर्देशनको तारिफ गर्दै उनले नेपाली दर्शकले आफ्नै समाजको विगत जान्न ‘जार’ एक पटक हेर्नै पर्ने फिल्म भएको बताए।
मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, र अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे। फिल्म हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फी खिच्न दर्शक लामो समय पर्खिरहेका थिए।
फिल्ममा महँगो लगानीमा भीएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो। यथार्थपरक ढंगले तयार गरिएको त्यो दृश्य पर्दामा आउँदा दर्शकले ताली र सिठ्ठी बजाएर स्वागत गरे।
निर्देशक फुर्वा छिरिङ लामाले आफूले अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय दृश्यहरूमा गरिएका नयाँ प्रयोग र जोखिम दर्शकले स्वीकार गरेको बताए। “खेलाडीले खेल सकेपछि के सिक्यो भन्ने कुरा हुन्छ, म पनि दर्शकको प्रतिक्रियाबाट निकै उत्साहित छु। वर्षौंको मेहनतको सम्मान पाउँदा खुशी लागेको छ,” उनले भने।
अभिनेता सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर फिल्म हेर्न पाउँदा पाएको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको जनाए। आइबी राईको अमर कृतिमा आधारित फिल्मलाई दर्शकले पनि अमर बनाउनेमा उनीहरू आशावादी छन्।
सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसभा सदस्य इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाललगायत विशिष्ट राजनीतिक व्यक्तित्वहरू तथा नेपाली फिल्म निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली, अभिनेता उत्तम प्रधानलगायतको उपस्थिति थियो।
सिक्किमपछि यही मे ३ मा सिलिगुडीमा फिल्मको दोस्रो प्रिमियर तय गरिएको छ। बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ‘जार’ टिम सिलिगुडी प्रस्थान गर्नेछ।
सरवनन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्मका कार्यकारी निर्माता त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन्। होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो।