प्रदीपले मागे क्षतिपूर्ति, तर केका लागि? प्रदीपले मागे क्षतिपूर्ति, तर केका लागि?

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गतको ‘रारा फिल्म, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ। समिटमा फिल्म, पर्यटन र जलवायु परिवर्तनसम्बन्धी विविध बहस र छलफलहरू भए।

समारोहका प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए।

कार्यक्रममा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको उपस्थिति थियो।

“घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली फिल्म प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य राखेको छ।

फिल्म, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा फिल्ममार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल भयो।

यस महोत्सवका सद्भावना दूतसमेत रहेका अभिनेता प्रदीप खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर फिल्म छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरू उजागर गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको उल्लेख गर्दै उनले कर्णाली विशेष गरी राराको अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धनमा फिल्मको प्रभावको चर्चा गरे।
उनको भनाइमा, फिल्म पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाज संरक्षणमा योगदान दिने शक्तिशाली माध्यम हो।

उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीर रूपमा लिनुपर्ने र त्यसका कारण कर्णालीलगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न स्थानीयले आवाज उठाउनुपर्ने बताए।

हिमालहरू पग्लँदै जानु, पानी र खाद्यान्न सङ्कट बढ्नु जस्ता अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो।

त्यस्तै, आफ्नो नयाँ फिल्म ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमै छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए।

महोत्सवका सह-आयोजक संस्था फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली फिल्म महोत्सवका विविध कार्यक्रमहरूले नयाँ सम्भावनाहरूको खोजी गर्दै गाउँ-गाउँसम्म फिल्म प्रवर्द्धनमा योगदान गरेको बताए।

बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई रारामा ल्याएर फिल्म निर्माणको योजना बनाएको जानकारी दिँदै उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेको उल्लेख गरे।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको भन्दै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन्।

रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेम गीत २’ पछि राराको प्रवर्द्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने बताए।
नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र फिल्म प्रवर्द्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

उनीहरूले यस्ता समिटले कर्णालीको आवाजलाई केन्द्रमा ल्याएको उल्लेख गर्दै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

सोरु गाउँपालिकाका उपाध्यक्ष शाहीले महोत्सवले क्षेत्रको विकास र संरक्षणप्रति सचेतना जगाएको भन्दै आफ्नो पालिकाले यस्ता कार्यक्रमलाई पूर्ण सहयोग गर्ने बताए।

उनले राराको भौगोलिक र पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै छायाङ्कनका क्रममा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै अभिनेता प्रदीप खड्काद्वारा उठाइएको जलवायु बहस सान्दर्भिक रहेको बताए।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनाहरू उजागर गर्ने अभियानको रूपमा व्याख्या गरे।

सल्लाहकार डा. महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्यूँझन थालेको उल्लेख गर्दै महोत्सवले यस अभियानलाई अझ सशक्त बनाउने बताए।

यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ।

महोत्सवले फिल्ममार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, फिल्मकर्मीलाई कर्णालीमा भित्र्याउने र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti