‘जार’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ? ‘जार’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

फिल्म ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ। नेपाली भाषीहरूको बाहुल्यता रहेको भारतका दुई सहर, सिक्किम र सिलिगुडीमा प्रिमियर गरेपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्र्यान्ड प्रिमियर सम्पन्न भएको हो।

मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमी, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फिल्म हेरेपछि अधिकांशले ‘जार’को प्रशंसा गरेका छन्। संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने फिल्मले प्रेम र वीरता पनि प्रभावशाली रूपमा प्रस्तुत गरेको बताइएको छ। फिल्ममा प्रयोग गरिएको भीएफएक्स र संगीतको खुलेर प्रशंसा गरिएको छ।

डा. भट्टराईले इन्द्रबहादुर राईको कथामा आधारित दुई सय वर्ष पुरानो परिवेशको फिल्म ‘जार’ पूर्ण मौलिक भएको उल्लेख गर्दै त्यतिबेलाको समाज र नेपालमा प्रचलित जार प्रथाको इतिहास बुझ्न अहिलेको पुस्ताले यो फिल्म हेर्नुपर्ने सुझाव दिए।

‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ। नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि फिल्म ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज फिल्ममा हेर्न पाउँदा निकै आनन्द आयो।’

फिल्मकी गायिका तथा संगीतकार झुमा लिम्बुको संगीतको पनि डा. भट्टराईले खुलेर प्रशंसा गरे। साथै, उनले यो फिल्मलाई राज्यले कर छुट दिनुपर्ने बताए।

ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदमै फरक र पूर्ण मौलिक फिल्म लागेको बताए। राम्रो काम गरेकोमा टिमलाई बधाई दिँदै, यो फिल्मले सामाजिक सन्देश दिएको र हेर्न दर्शकलाई आग्रह गरे।

अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन्। उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौं, र ‘जार’ त्यसैको निरन्तरता हो। यसले हाम्रो इतिहास र साहित्यलाई फिल्ममार्फत जीवन्त बनाएको छ। प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौं।’

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वा छिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन्।

नेतृ हिसिला यामीले ‘जार’ अहिलेको समसामयिक सन्दर्भमा सशक्त फिल्म भएको बताइन्। उनले भनिन्, अहिलेको आर्थिक तथा राजनीतिक समस्याले नेपाली युवा–युवतीको घाँटीमा जारझैं झुन्डिएको छ। हजारौं युवतीहरू विदेशतिर लखेटिएको उल्लेख गर्दै, सरकारमा बसेकाले यो फिल्म हेरेर केही सिक्नुपर्ने सुझाव दिइन्।

निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि नेपाली फिल्मको कलात्मक उचाइ बढेको प्रतिक्रिया दिए।

‘पेन्टिङजस्तो फ्रेम, जीवन्त साउन्ड डिजाइन, मौलिक संगीत, गहिरो अभिनय—यी सबै प्रशंसनीय छन्। त्यसबाहेक फिल्ममा मुटु र दिमाग हल्लाउने शक्ति छ। ‘जार’ले नेपाली फिल्ममा एक महत्वपूर्ण इँटा थपेको छ,’ उनले भने। ‘यसअघि ‘साम्बाला’ र अहिले ‘जार’—भित्रैदेखि सन्तुष्टि दिएको फिल्म हो ‘जार’।’

प्रिमियरमा उपस्थितहरू निर्देशक लामा र कलाकारहरू सौगात मल्ल, अनुपविक्रम शाही तथा गीताञ्जली थापाको सशक्त अभिनयबाट प्रभावित देखिन्थे।

फिल्मपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्षदेखि कल्पना गरेको पात्रमा अभिनय गर्न पाउँदा खुसी व्यक्त गरे। ‘यो मेरो सपना थियो। कतिपटक मलाई लाग्थ्यो म यो फिल्म गरिसकेको छु। यति मन परेको थियो। अहिले आएर बन्न लेखेको रहेछ,’ उनले भने।

अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहास पर्दामा उतार्ने प्रयास गरिएको र दर्शकको साथप्रति आफू आशावादी रहेको बताए।

१८०० को दशकको वास्तविक घटनामा आधारित फिल्म ‘जार’ आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित फिल्म हो, जसलाई साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रही फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको फिल्म ‘जार’ सामाजिक विषयमा आधारित भए पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले उनले फिल्मले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताए।

‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।

फिल्म ‘जार’का कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ भने झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ।

फिल्म ‘जार’ नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ। नेपालभित्र फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti