ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: हलहरुले दिए व्यापक शो ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: हलहरुले दिए व्यापक शो

यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ऊनको स्वीटरको अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन्। टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यस फिल्मप्रति दर्शकको चासो झन् तीव्र बनेको छ।

नेपालकै सबैभन्दा ठूलो सिनेमा हल सञ्जाल क्यूएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो। त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका अधिकांश सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन्।

वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले फिल्मका लागि व्यापक शो प्रदान गरिसकेका छन्। यकिन शोको सङ्ख्या बिहीवार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने अनुमान गरिएको उनले बताए। शोको सङ्ख्या र दर्शकको चासो हेर्दा फिल्मले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ।

आर्टमाण्डू प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म ऊनको स्वीटरमा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन्। उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगरको दमदार अभिनय रहनेछ।

सङ्गीतमा सुजन चापागाईं र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि फिल्मप्रतिको प्रतीक्षा उत्साहजनक बनाएको छ।

निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म ऊनको स्वीटरको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ। चौहानले यसअघि घुमी घुमी, देखेर तिमीलाई – तीनपाते, फूलथुङ्गे रानीचन्द्रमा जस्ता चर्चित सङ्गीतमूलक फिल्म निर्देशन गरिसकेका छन्।

फिल्मको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो। यस फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti