फिल्म ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ ।
नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिग्देल, रमेश उप्रेती र पल शाहपछि वर्षा अनुबन्धित भएकी हुन् ।
यो लाइनअपसँगै निर्माणपक्षले फिल्ममा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेसँगै फिल्मप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।
यस फिल्ममा जयकिशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।
फिल्म फूलपातीमा प्रदर्शन हुने बताइएको छ । फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ ।
उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा उत्कृष्ट ठहरिएको थियो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि निर्माण गरेको फिल्म ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।