सार्वजनिक भएको दुई दिनमै फिल्म नरसिंहाः अवतारको ट्रेलरले युट्युबमा १० लाख भ्युज पाएको छ। युट्युबको मुभी सेसनमा यो फिल्म हाल ३ नम्बर ट्रेन्डिङमा रहेको छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ।
म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको यस फिल्मको ट्रेलरमा ४ हजार ३ सयभन्दा बढी प्रतिक्रिया प्राप्त भएका छन्, जसमा अधिकांश सकारात्मक छन्।
“राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो” भन्दै दर्शकहरू उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा पनि फिल्मको ट्रेलर व्यापक रूपमा साझा गरिएको छ।
महानायक राजेश हमालको आठ वर्षपछि आएको कमब्याक फिल्म भएकाले पनि दर्शकहरू यसप्रति विशेष रूपमा प्रतीक्षारत छन्।
फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, एल्भिना खड्का र समाइरा थापाको अभिनय रहेको छ।
फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा रहेको छ। ट्रेलरले उच्च हाइप बनाएका कारण फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।
यस फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी रहेको छ।