नेपाली फिल्म ऊनको स्वीटर ले सफलतापूर्वक दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ प्रवेश गर्न लागेको छ। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको मन जितिरहँदा, बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा पनि कलाकर्मी, राजनीति, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो।
विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा. लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारीले फिल्म हेरेर आफ्ना गहकिला प्रतिक्रिया दिए। उनीहरूले ऊनको स्वीटर ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढंगले प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे।
अभिनेत्री मनीषा कोइरालाले फिल्मको खुलेर प्रशंसा गर्दै भनिन्, “ऊनको स्वीटर हेरेँ। कति सुन्दर र मन छुने प्रेमकथा! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने संगीत अनि सशक्त अभिनयले यो फिल्म अविस्मरणीय बनाएको छ। हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्यौँ।”
गायक राजेश पायल राईले भने, “फिल्म अत्यन्तै मीठो बनेको छ। निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरूको अभिनय उल्लेखनीय छ। यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्न लायक काम हुँदैछ।”
अभिनेता तथा पाइलट विजय लामाले फिल्मको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे। “यसका निर्देशक अमेजिङ स्टोरीटेलर हुन्। फरक ढंगको अर्ग्यानिक कथा बोकेको यो फिल्म सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नुपर्ने फिल्म हो,” उनले भने।
अभिनेता नाजिर हुसेनले भने फिल्मले पुराना दिनहरूको सम्झना दिलाएको बताए। “फिल्म न्यानो छ, कोमल छ। पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो। कलाकारहरूको अभिनयले दिल नै चोरेर लैजान्छ,” उनले प्रतिक्रिया दिए।
गायक आनन्द कार्कीले फिल्मको हरेक पक्षले दिल छोएको बताए। उनले ऊनको स्वीटर को संगीत पनि अत्यन्तै उच्च स्तरको रहेको जनाए।
संविधानविद् डा. आचार्यले फिल्ममा कलाकारहरूको अभिनय, संवाद, र दृश्यहरू अत्यन्तै प्राकृतिक भएकाले हेर्दाहेर्दै आफ्नै जीवनसँग मिल्ने अनुभूति दिएको बताए। “विगतसँग नोस्टाल्जिक बनाउँछ। अटो भरेको दृश्यले बालापनको याद गराउँछ। चार-पाँच वटा भरिएका अटोहरू आज पनि मसँग सुरक्षित छन्,” उनले भने, “विपिनहरू त अभिनयका बादशाह नै हुन्। मलाई त यो फिल्ममा सबैभन्दा उत्कृष्ट, जीवन्त र प्राकृतिक अभिनय फिल्मकी ‘फूल’ अर्थात् मिरुना मगर बहिनीको लाग्यो। नेपाली फिल्मको जय!”
नवीन चौहानले निर्देशन गरेको ऊनको स्वीटर मा कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ।