आज शुक्रबारदेखि देशभरका हलहरूमा रिलिज भएको फिल्म ‘नरसिंहाः अवतार’लाई दर्शकको सकारात्मक साथ प्राप्त भइरहेको छ।
बिहानैदेखि काठमाडौं लगायतका विभिन्न स्थानमा दर्शकको अकुपेन्सी (हलको भराइ) सन्तोषजनक देखिएको थियो जुन साँझका शोसम्म कायम रहे ।
आज बिहानैदेखि फिल्मका मुख्य कलाकारहरू विभिन्न हलहरूमा पुगेका थिए। काठमाडौंस्थित बिग मुभिज हलमा पुगेका कलाकारहरू दर्शकको उत्साहजनक प्रतिक्रिया देखेर खुशी देखिए।
फिल्म हेरेर निस्केका दर्शकहरू ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीत गाउँदै फर्किएको दृश्यले दर्शकमा फिल्मले छाडेको प्रभाव देखाउँछ।
दर्शकहरूले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् र ‘महानायक’ राजेश हमालको कमब्याकलाई सार्थक भनेका छन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
आठ वर्षपछि ठूलो पर्दामा फर्किएका राजेश हमाललाई हेर्न दर्शकहरू उत्साहित देखिएका छन्।
फिल्मको प्रत्येक दृश्यमा दर्शकको हुटिङ र तालीले हमालप्रतिको व्यग्र प्रतीक्षा पुष्टि गरेको छ।
नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा बनेको ‘नरसिंहाः अवतार’ले पारिवारिक सम्बन्ध, प्रेम, विछोड र बदलाको कथा प्रस्तुत गर्छ।