नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ फिल्म ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्। ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ फिल्म निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुनप्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबीचको सङ्घर्ष भोग्दै जान्छ। यस फिल्मले नेपालको सीमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो सञ्जाल, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई उजागर गर्नेछ।
फिल्ममा पछिल्लो समयका चर्चित कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन्। ‘आउटल: दफा २१९’ बाट एक्सन अभिनेताको रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठका लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन सावित हुने दाबी गरेका छन्। त्यस्तै, ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल फिल्महरूमा अभिनय गरेकी अञ्जना बराइलीको अर्को प्रतीक्षित फिल्म ‘महाभोज’ पनि चाँडै रिलिज हुँदैछ। यस फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
दिव्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता दीपक सिवाकोटी हुन्। उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायी तथा समाजसेवामा सक्रिय व्यक्ति हुन्। समाज परिवर्तनको पक्षपाती सिवाकोटीले सामाजिक मुद्दालाई सशक्त माध्यम फिल्ममार्फत उठान गर्ने उद्देश्यले यो फिल्म निर्माणमा हात हालेका हुन्। फिल्मको कथा स्वयं सिवाकोटीले लेखेका हुन्।
फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। उनले यसअघि ‘सिलसिला’, ‘दशगजा’, ‘रावायण’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता दर्जनौँ चर्चित फिल्महरू लेखिसकेका छन्। अधिकारीका अनुसार, यस फिल्मले समाजमा देखिने कर्तव्य र भावनाबीचको द्वन्द्व, एक प्रहरीको इमानदारी र मानवीय मूल्यहरूको टकरावलाई समेट्नेछ।
छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर एवं पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन्। निर्देशकको सहायक नवराज शर्मा र प्रोडक्सन हेड अरुण रेग्मी रहनेछन्।
‘परिवर्तन’ फिल्मको छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ। पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन गरिनेछ र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ।
‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं. २०२८ सालमा पनि फिल्म निर्माण गरिएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।