युकेको राष्ट्रिय अवार्डमा बिक्रमको ‘कामा’ मनोनीत,भोट गर्न आग्रह युकेको राष्ट्रिय अवार्डमा बिक्रमको ‘कामा’ मनोनीत,भोट गर्न आग्रह

नेपाली अभिनेता तथा निर्माता बिक्रमको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११औं नेशनल फिल्म अवार्ड्स–२०२५ मा

नेपाली अभिनेता तथा निर्माता बिक्रम डि. जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११औं नेशनल फिल्म अवार्ड्स–२०२५ मा मनोनयनमा परेको छ।

लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका जोशीको नयाँ फिल्म ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म श्रेणीमा मनोनयनमा परेको हो।
गत मार्च दोस्रो सातादेखि बेलायतका विभिन्न शहरका हलहरूमा प्रदर्शन भई दर्शकको मन जितेको यो क्राइम सस्पेन्स फिल्म हो।

‘कामा’ सँगै सो श्रेणीमा ‘ट्रेडिङ वाटर’, ‘डिमाइस’, ‘बिफोर निक्काहा’, ‘ल्याला’, ‘ब्ल्याक क्याव’, ‘फोर मर्डर्स’, ‘अ ब्रदर्स बोन्ड’, ‘डोन्ट टर्न आउट द लाइट्स’, ‘कुक्सटर–द डार्केस्ट डेज’ र ‘रेपुटेशन’ नामका ब्रिटिश फिल्महरू प्रतिस्पर्धामा छन्।

कडा प्रतिस्पर्धा हुने यस अवार्डको विजेता सन् २०२५ जुलाई २ मा लन्डनको पोर्चेस्टर हलमा आयोजित भव्य समारोहबीच घोषणा गरिनेछ।
अवार्ड आयोजक नेशनल फिल्म एकेडेमी, बेलायतले १९ मेमा नोमिनेशन सार्वजनिक गर्दै १९ जूनसम्म सर्वसाधारणका लागि अनलाइन सार्वजनिक मतदान खुला गरेको जनाएको छ।
विजेता सर्वसाधारणको मतको आधारमा छनोट गरिनेछ।

यस सन्दर्भमा निर्माता जोशीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई ‘कामा’ लाई भोट दिई जिताउन आग्रह गरेका छन्।
उनी भन्छन्, “बेलायतको नेशनल फिल्म अवार्डमा नेपाली फिल्म मनोनयनमा पर्नु हामी सबैका लागि गर्वको कुरा हो। त्यसैले सबैलाई ‘कामा’ लाई भोट गर्न हार्दिक अनुरोध गर्दछु।”

सन् २०१५ मा स्थापित नेशनल फिल्म एकेडेमीले आयोजना गर्ने यो अवार्ड समारोह बेलायतको प्रतिष्ठित वार्षिक कार्यक्रमहरूमध्ये एक हो।
यसमा वेस्ट ब्रिटिश फिल्म, वेस्ट एक्टर/एक्ट्रेस, बेस्ट डाइरेक्टर, बेस्ट स्क्रिप्ट, बेस्ट इन्डिपेन्डेन्ट फिल्म, बेस्ट न्यूकमर लगायतका विधामा अवार्ड प्रदान गरिन्छ।
ब्रिटिश सिनेमा क्षेत्रमा योगदान पु-याउने स्रष्टाहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिन्छ।

भीमसेन लामाले निर्देशन गरेको ‘कामा’ को कथा दिवंगत बिशारद बस्नेतले लेखेका हुन्। पटकथा तथा संवाद लक्ष्मण सुवेदी, बिक्रम डि. जोशी र हिराल जोशीले तयार पारेका हुन्।
यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा अवार्ड जितिसकेको यो फिल्ममा नेपाली अभिनेता टंक धमला, समीर गुरुङ, भारतीय अभिनेत्री पूजा गुप्ता, ब्रिटिश अभिनेता म्याथ्यु वेबफोर्ड, जेमिमा टोम्स, मिया बेनेट लगायतको अभिनय रहेको छ।

बिक्रम जोशी कार्यकारी निर्माता रहेको फिल्ममा हिराल जोशी निर्माता र इश्वर श्रेष्ठ तथा एमजी अमीन सहनिर्माता रहेका छन्।
फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो।

यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’, ‘हेलो जिन्दगी’, ‘राधा’ लगायतका फिल्ममा अभिनय तथा निर्माण गरिसकेका जोशी हाल ‘कामा’ को अन्तर्राष्ट्रिय प्रदर्शनका साथै नयाँ नेपाली फिल्म ‘बिक्रम’ को तयारीमा छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti