फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पहिलो गीत ‘आमा’ मा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर । अर्जुनलाई मनिषा सुनार स्वरमा साथ दिएकी छन् । गीत :
गीतमा विभिन्न आरोह र अबरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ ।
गीतले फिल्मको सार बोलेको छ । फिल्मको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म छ गीतमा । ईमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ ।
आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ ।
फिल्मका असोसियट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा–छोरीको लागि समर्पित गीत रहेको बताए।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।