फिल्म ‘जहाजैमा’मा माग्ने राजा उर्फ अभिनेता केदार घिमिरे अनुबन्धित भएका छन् । फिल्मको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको हो । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको जहाजैमा तेश्रो फिल्म हो भने केदारको शिर्ष भूमिका रहेको माग्ने राजा भदौ ६ गतेदेखि रिलिज हुँदैछ।
कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा केदार अनुबन्धित भएपछि कृषाले भनिन्, ‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’ यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । आज कलाकार केदारसँग उज्ज्वलले कागजी संझौता गरेका हुन्।

फिल्ममा मल्टिस्टारर कलाकारहरु रहने छन् । अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माण पक्षले बताएको छ । यो फिल्ममा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।