भदौ ६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो ।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो । निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुईवटै पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ।


एउटा पोस्टरमा छेउछउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।
यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ । यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ ।
पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ । धागोले पोस्टरलाई केही फरकपन दिएको छ । दर्शकमा पोस्टरले सिनेमालाई नोटिस गराउन सक्छन् ।
निर्माण पक्षले यसअघि नै फर्स्ट लुक्स सार्वजनिक गरेको थियो । जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।