टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको हो । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौता भयो ।
यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ लगायत अन्य कलाकारहरुको अभिनय छ ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन्।
फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।