अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्म ‘मैझारो’को साउन १ गतेदेखि औपचारिक रूपमा छायाँकन सुरु गरिएको छ । फिल्मको छायाँकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ।
फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए । फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन् ।

संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्ममा स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन्।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर फिल्म हो । यसअघिसम्म कम्पनीले हास्य तथा सांगीतिक सामग्री मात्रै निर्माण गर्दै आएको थियो। ‘मैझारो’मार्फत कम्पनीले फिचर फिल्मतर्फ पाइला चालेको हो ।