फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ भदौ ६ गते रिलिज हुँदैछ । गत साता फिल्मको टिजर रिलिज भएको थियो । टिजरलाई दर्शकले कस्तो प्रतिक्रिया दिएका छन् त ?
“फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्णविश्वास लागेको छ । जनै हराएको मान्छे सुपरडुपर हिट होस् । सुभेक्षा अनि शुभकामना,” टिजर हेरेर कबिन्द्र श्रेष्ठ नाम गरेका दर्शकले कमेन्टमा लेखेका छन् । “यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने चलचित्र बनाए पो चल्छ त । सम्पूर्ण टीमलाई शुभकामना,” मोहित सिरपाइली नाम गरेका अर्का दर्शकले कमेन्ट गरेका छन् ।
धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तब्य बनेको कोरियोको कथा टिजरमा उठान गरेको मन पराएका छन् । यसरी आइरहेका प्रतिक्रियाप्रति निर्माण टिम उत्साहित छ । विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । दर्शकले सिनेमा मन पराउने गरी आफूहरूले कथादेखि मेहनत गरेको उनको दाबी छ । कतार, दुवै, मलेसियाका धेरै कथा आइरहेका बेला कोरियाको कथा आउँदा प्रतिक्रिया हेर्दा यसले पनि उत्साह दर्शका थपेको निर्देशक न्यौपानले बताउँछन् ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्। पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।