धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ’फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो । नयाँ हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो।

आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक थियो । हल परिसरमा दर्शकको बाक्लो उपस्थिति र हुटिङले कार्यक्रम निकै उत्सवमय बनेको थियो। करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ । नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ।
फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा ’टुके प्रोजेक्सन’ र ’डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।





