“परालको आगो“ फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आइतबार नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सबै नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ । साथै फिल्मको टिजर भोलि बिहान ११ः२५ बजे सार्वजनिक हुने जानकारी पनि दिइएको छ।

अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ। सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी सुहाना थापा को भावपूर्ण मुद्राले पोस्टरलाई अझ जीवन्त बनाएको छ। उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउँछ।
पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँछ । प्रकृतिको न्यानो प्रकाश र नरम रंग संयोजनले दृश्यलाई आकर्षक बनाएको छ । नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एकै फ्रेममा उतारिएको यो पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत पनि दिन्छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुहाना, सौगात र प्रकाशका सँगै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ ले पनि अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रा.लि. को ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटा ले गरेका छन् । छायांकन संकल्प भुजेल को रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवर ले गरेका छन्।
फिल्ममा भिएफएक्स समिर मियाँ र सत्यम राना ले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खान ले गरेका छन् । मिक्सिङ मुकेश शाह को रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरे ले सम्हालेका छन् ।





