आँचल शर्माको जन्मदिनमा “एक मुठी बादल” को टिजर रिलिज आँचल शर्माको जन्मदिनमा “एक मुठी बादल” को टिजर रिलिज

अभिनेत्री आँचल शर्माको शिर्ष भूमिका रहेको फिल्म एक मुठी बादलः माई सेयर अफ स्काईको टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ’पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ ।

कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ। यो कविता फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर फिल्मको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । सहारा भन्छिन्, यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ।

अभिनेत्री आँचल शर्माले फिल्म एक मुठ्ठी बादल आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् । ‘अरु फिल्ममा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ।

फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

फिल्मका लगभग सबै विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti